२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आईतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने तर्क गरेका थिए । सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ? भन्दै प्रश्न गरेकी छन् ।
उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिएकी छन् । उनले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप पनि लगाएकी छन् । बजारमा रहेको ग्यासको अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारी पीडितको वचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘ सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित, युवा सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौँ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ?अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस् ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij