२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताएका छन्।
नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताएका हुन् । मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि ‘होल अफ द नेशन’ (एकीकृत राष्ट्रिय दृष्टिकोण) आवश्यक रहेको स्पष्ट पारेका छन् ।
सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने उनको भनाइ छ । उद्योगले कमाउने नाफाले पुनरलगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी र आम्दानीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उल्लेख गरेका छन्।
वैध रूपमा गरिएको लगानी र आर्जन गरिएको मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। सो अवसरमा अर्थमन्त्रीले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह गरेका छन् । सरकारले विगतका समस्याहरूलाई सच्याउँदै लगानीमैत्री वातावरण बनाउन विशेष छुट र सुविधाहरू समेत घोषणा गरेको उनले स्मरण गराएका छन् ।
अर्थमन्त्री वाग्लेले भने, ‘चालु आर्थिक वर्षको बजेटमार्फत हामीले स्पष्ट सन्देश दिएका छौँ कि सरकारको प्राथमिकता केवल कर सङ्कलन मात्र होइन । हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तिब्र बनाउनु हो । नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो । लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण नभएसम्म ठूलो लगानी आउन सक्दैन ।’
सरकारले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरी समाधानको ठोस कार्यसूची (एक्सन प्लान) बनाएर अघि बढ्ने उनले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी उद्यमीहरूले लगानीका अवरोध र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij