२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले राजमार्ग अवरुद्ध गरेका हुन्।
आन्दोलनकारीले सोमबार बिहान ११ बजेदेखि ११:३० बजेसम्म आधा घण्टा राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
ढल्केबरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै संघर्ष समितिले गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो। संसदमा स्वास्थ्य मन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा विरोध चर्किएको हो।
संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म र भदौ २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।
मिथिला नगरपालिका–७, साविक ढल्केवर गाविस–२ ‘क’ को कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८\७९ को बजेटमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक रकम विनियोजन गरेको थियो।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपूर्जा समेत बनिसकेको मेयर महतोले बताए। शिलान्यासको तयारीमा रहेको योजना अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij