२०८३ श्रावण २८ गते बिहिवार
गोरखा । गोरखा संग्रहालयमा अब गोलासहितको तोप हेर्न पाइने भएको छ । संग्रहालयले प्रवेशद्धारमा रहेका दुई वटा निकै पुराना तोपसँगै गोला पनि प्रदर्शनीमा राखेको हो । पल्पामा रहेको नेपाली सेनाको द फेमस महेन्द्र दल गणसँग समन्वय गरेर ३० थान गोला ल्याएर तोपसँगै प्रदर्शनमा राखेको संग्रहालयका प्रमुख जयनारायण कार्कीले बताए ।
‘तोपको गोला कस्तो हुन्छ ? भनेर आगन्तुकबाट जिज्ञासा आइराख्थ्यो,’ उनले भने, ‘आगन्तुकलाई जानकारी पनि होस्, गोला कस्तो कस्तो हुन्छ भन्ने जिज्ञासा पनि मेटियोस् भनेर प्रदर्शनमा राखेका हौँ ।’
यस्तै संग्रहालयलाई अपाङ्गमैत्री पनि बनाइएको उनले बताए । मुख्य प्रवेशद्धारदेखि संग्रहालय चोकसम्म अपाङ्गमैत्री संरचना निर्माण गरिएको उनले बताए । ‘श्रव्यदृश्य कक्षसम्म अपाङ्गमैत्री संरचना बनाएका छौँ, कम्तिमा श्रव्यदृश्य कक्षबाटै माथिल्लो तल्लामा राखिएका सामग्री समेत हेर्न पाइने भयो,’ उनले भने । तल्लो तलाको श्रव्यदृश्य कक्षासम्म अपाङ्गता भएकाहरू हृविलचियरबाट पुग्न सक्ने उनले बताए । ‘सिँढी भएको ठाउँमा फलामको चेम्बर तथा हृविलचियर हिँड्न मिल्ने संरचना निर्माण गरेका छौँ,’ उनले भने ।
संग्रहालय अवलोकन गर्न आउने आगन्तुक वर्षै पिच्छे बढ्दै गएको कार्कीको भनाइ छ । गोरखा राज्य स्थापनाको इतिहास बुझ्न गोरखा संग्रहालय शैक्षिक भ्रमणमा आउने विद्यार्थीको पनि रोजाइमा पर्ने गरेको छ । संग्रहालय १९ जेठ २०६५ सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालयमा कलात्मक भाडावर्तन कक्ष, जातजाति कक्ष, गोरखा राज्यको शाहवंशीय राजाहरुको परिचयात्मक कक्ष, शाहवंशीय राजाहरूसँग सम्बन्धित विभिन्न तैलचित्र कक्ष, पृथ्वीनारायण शाहको जन्मकुण्डली तथा दिव्योपदेश कक्ष, नेपाल एकीकरणको समयमा प्रयोग भएका हातहतियार र पृथ्वीनारायण शाहले स्थापना गरेको ५ सैन्य कम्पनी तथा सिंहासन कक्ष, पुष्पिका वाक्य तथा लालमोहर कक्ष, धार्मिक तथा परम्परागत भाडावर्तन कक्ष, लिच्छवी चैत्य कक्ष, लोक बाजा प्रतिमूर्ति कक्ष रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij