२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अस्ट्रेलियाको सिड्नी विमानस्थलमा आइतबार दुई यात्रुवाहक विमान धावनमार्गमा ठोक्किनबाट झन्डै जोगिएपछि घटनाबारे छानबिन सुरु गरिएको छ ।
अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोका अनुसार जेटस्टारको ए३२० र कतार एयरवेजको बोइङ ७७७ विमान धावनमार्ग क्षेत्रमा अत्यन्तै नजिक पुगेका थिए ।
जेटस्टारको विमान क्वीन्सल्यान्ड राज्यको गोल्ड कोस्टतर्फ उडान भर्नका लागि ट्याक्सी गरिरहेको थियो । त्यस क्रममा विमानका चालक दलले क्रसिङ ट्याक्सीवेमा एयरक्राफ्ट टगमार्फत तानिँदै गरेको कतार एयरवेजको विमान निकै नजिक देखे ।
एटीएसबीका अनुसार दुवै विमानलाई तत्काल रोकिएको थियो । घटनामा जेटस्टार विमानका एक जना केबिन क्रु सदस्य घाइते भएका छन् । कतार एयरवेजको विमानको अगाडिको ल्यान्डिङ गियर र त्यसलाई तानिरहेको टगबीचको जडानमा पनि क्षति पुगेको छ ।
अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टासको बजेट शाखा जेटस्टारले पनि घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
जेटस्टारका प्रवक्ताले विमानले हवाई ट्राफिक नियन्त्रणको निर्देशनअनुसार अघि बढिरहेको अवस्थामा अर्को विमान निकै नजिक आएपछि चालकहरूले कडा ब्रेक लगाउनुपरेको बताएका छन् ।
अस्ट्रेलियामा हवाई ट्राफिक व्यवस्थापन गर्ने सरकारी निकाय एयरसर्भिसेस अस्ट्रेलियाले उक्त घटनापछि विमानस्थलमा ‘डिपार्चर स्पेसिङ’ लागू गरिएको जनाएको छ । विमानस्थलबाट उड्ने विमानको संख्या र हवाई यातायातको अपेक्षित चापलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न यस्तो व्यवस्था गरिएको निकायले बताएको छ ।
यो घटना विमानस्थलमा व्यापक उडान ढिलाइ भएको एक दिनपछि भएको हो । अघिल्लो दिन पनि एयर ट्राफिक कन्ट्रोलरहरूको ड्युटी रोस्टरसम्बन्धी समस्याका कारण एयरसर्भिसेस अस्ट्रेलियाले यस्तै ‘डिपार्चर स्पेसिङ’ व्यवस्था लागू गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij