२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
३२ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले आदिवासी जनजातिको भाषा, संस्कृति, सम्पदा र पहिचान रक्षाका लागि पुस्ताौँदेखि भएको सङ्घर्षको स्मरण गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।
नेपालको संविधानले समानुपातिक समावेशिता, सामाजिक न्याय र पहिचानका क्षेत्रमा अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले राज्यका निकायहरूमा विविध समुदायको प्रतिनिधित्वको ढोका खोलेको बताएका छन् । वर्तमान सरकारले आफ्नो नीति, कार्यक्रम तथा बजेटमार्फत आदिवासी समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्ने प्रण गरेको उनले जानकारी दिएका छन्।
मन्त्री श्रेष्ठले भने, ‘आजको दिन उत्सव मनाउने मात्र नभई इतिहासको समीक्षा गर्ने र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न सङ्कल्प गर्ने दिन पनि हो । हाम्रो संस्कृति केवल पर्वमा प्रदर्शन गर्ने विषय मात्र नभई पहिचान र अर्थतन्त्रको शक्ति बन्नुपर्छ । परम्परागत ज्ञान र सीपलाई विज्ञान तथा प्रविधिसँग जोड्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्छ ।’
बसाइँसराइ, तिब्र आधुनिकीकरण र जलवायु परिवर्तनका कारण आदिवासी जनजाति समुदाय सबैभन्दा बढी प्रभावित भइरहेको प्रति सचेत गराउँदै मन्त्री श्रेष्ठले जल, जमिन र जङ्गलको संरक्षणमा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij