२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम भने यथावत् रहेको भन्दै प्रश्न उठाएका हुन् ।
नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन् । उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्न सकिने सुझावसमेत दिएका छन् ।
ढकालले भने, “परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, एयरपोर्टहरूका नाम परिवर्तन भए । न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला ।”
उनले नाम परिवर्तन मात्रै नभई सिंहदरबारको कार्यशैली, सोच र प्रवृत्तिमा समेत सुधार आवश्यक रहेको बताएका छन् । प्रशासनिक केन्द्रबाटै पुरानो शैली, भाषा र व्यवहार परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij