२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिएका छन् । उनका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो ।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए ।
त्यसपछि आफन्तसहितको टोली खोजीमा निस्किएको थियो । खोजीका क्रममा पूर्व-पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु।प्र।०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । शुक्रबारदेखि प्रहरी, स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij