२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । शुक्रबार साँझदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह अझै फेला पर्न सकेका छैनन्। प्रहरीले सुरक्षा निकाय र स्थानीयको सहयोगमा निरन्तर खोजी गरिरहेको भए पनि उनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
सिंह सम्पर्कविहीन भएको बुद्धभूमि नगरपालिका–स्थित ढेकरी जंगल क्षेत्रमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘के–नाइन’ शाखाबाट तालिमप्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरी खोजी गरिएको थियो। तर, त्यसबाट पनि कुनै ठोस जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
सिंह शुक्रबार दिउँसो करिब साढे ३ बजेदेखि ढेकरी जंगलबाट सम्पर्कविहीन भएका हुन्। जंगलमा बाटो अलमलिएर समस्या परेको भन्दै उनले साँझ साढे ५ बजेसम्म विभिन्न व्यक्तिसँग मोबाइलमार्फत कुराकानी गरेका थिए। त्यसपछि भने उनले कसैसँग सम्पर्क गरेका छैनन्।
राति करिब १ बजेसम्म उनको मोबाइलमा रिङ गएको भए पनि फोन उठेको थिएन। त्यसपछि भने मोबाइलमा समेत सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार शनिबार दिनभर ८० भन्दा बढी नेपाल प्रहरी, करिब ५० जना सशस्त्र प्रहरी तथा सयभन्दा बढी स्थानीय खोजीमा परिचालन भएका थिए।
प्रहरी उपरीक्षक भट्टले आइतबार पनि सुरक्षा निकाय तथा स्थानीयको सहभागितामा खोजी कार्यलाई निरन्तरता दिइने बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij