२०८३ श्रावण २८ गते बिहिवार
१. सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख ४ गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उहाँले अदालतको प्रक्रियालाई स्वभाविक रूपमा लिइएको बताउनु भयो । अदालतको पछिल्लो आदेशमाथि न्युज एजेन्सी नेपालसँग प्रतिक्रिया दिँदै उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग बाझिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानूनी मान्यता रहेको बताउनु भयो । यद्यपि, यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग बाझिने अवस्था आफूहरूले नदेखेको उहाँको जिकिर छ ।
२. सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गर्नुभएको हो । उहाँले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको स्पष्ट पार्नुभयो । सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उहाँले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
३. वैशाख यता विपद्बाट २०५ जनाको मृत्यु
चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिनअनुसार यस अवधिमा विपद्का कारण कुल २०५ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता र १ हजार ३ सय २४ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख यता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ । सर्पदंशका ८ सय १ घटनामा परी ५९ जनाको मृत्यु र ७ सय ४९ जना घाइते भएका छन् । त्यसैगरी चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको छ ।
४. मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र अधिनायकवाद जन्मायोः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दाबी गर्नुभयो । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारू लगायतका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उहाँको आरोप छ ।
५. मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
६. मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताउनुभएको छ । राप्रपा काठमाडौं महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गर्नुभएको हो । पार्टीको हालै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पंक्ति तयारीमा केन्द्रित भएको उहाँले जानकारी दिनुभयो । विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बीच वर्तमान राजनीतिक समीकरण निर्माण भएपनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उहाँको तर्क छ ।
७. प्रमुख दलहरू सच्चिनु नै सुरक्षित बाटो, देखाइदिउँ भन्ने प्रवृत्तिको परिणाम भोग्दैछौँः महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभएको छ । शनिवार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । महासचिव पोखरेलले जुन कारणले पार्टी र आन्दोलन कमजोर भएको हो, ती समस्याहरूको पहिचान र सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा जोड दिनुभयो ।
८. एसियन गेम्समा पदक जित्ने लक्ष्यमा कराँतेका काता टोली
नेपाली खेलकुदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधलाई आगामी २० औं एशियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ ।
गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला समय नेपाली खेलकुदमा एकपछि अर्को सफलताको कारण नै नेपालका कराते खेलबाट आशा गरिनु स्वाभाविक पनि हो । १९औं एशियाली खेलकुद नेपालकी कराते खेलाडी एरिका गुरुङले एशियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एशियन च्याम्पियनसिप, विश्व च्याम्पियनसिप र प्रिमियर लिगमा पनि उनले कुमुतेमा राम्रो नतिजा दिँदै आएकी छन् । यसपल्ट कुमुतसँगै काताबाट पनि धेरै आशा गरिएको छ ।
९.एमालेबाट युवा र शहरी मध्यम वर्ग टाढिँदै गएको महासचिव पोखरेलको स्वीकारोक्ति
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चारवटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गर्नुभएको छ । शनिवार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राख्नुभएको हो । महासचिव पोखरेलले विशेष गरी २०७९ सालको निर्वाचन यता सहरी मध्यम वर्ग, भूमिहीन सुकुम्बासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू एमालेबाट टाढिँदै गएको बताउनु भयो । नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । साथै, विदेशमा रहेका नेपालीहरू पनि पार्टीप्रति नकारात्मक बन्दै गएको उहाँको ठम्याइ छ । पार्टीले यी कमजोरीहरू पहिचान गरी सुधारका लागि ‘मिसन ग्रासरुट’ लगायतका अभियान सञ्चालन गरे पनि तल्लो तहमा त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।
१०. ‘प्राकृतिक, ऐतिहासिक र साहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’
मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व, धार्मिक सम्पदा र शाहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । तराईको राप र हेटौँडाको गर्मीबाट राहत खोज्नेहरूका लागि करिव २० देखि २५ किलोमिटरको दूरीमा रहेको बुढीचौर एक शीतल गन्तव्य बनेको छ । यहाँको स्वच्छ हावापानी र यात्राका क्रममा देखिने मनोरम पहाडी दृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको छ । पछिल्लो समय यहाँ निर्माण गरिएको रेलिङ र पदमार्ग सामाजिक सञ्जालमा चर्चामा आएपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् ।
११. ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’ः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताउनुभएको छ । राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तरसंघर्ष वा विगतका कुनैपनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उहाँले आफू सबैको अभिभावक भएर काम गर्ने बताउनु भयो । यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उहाँले स्पष्ट पार्नुभयो ।
१२. केही प्रकारका गोलाबारुदको आपूर्तिमा कमी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको समग्र गोलाबारुद भण्डार पर्याप्त भएपनि केही विशिष्ट प्रकारका हतियारहरूको आपूर्तिमा केही दबाब रहेको बताउनुभएको छ । बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामीसँग यस्ता केही प्रकारका हातहतियार छन् जुन निकै शक्तिशाली छन् र तिनको आपूर्ति लगभग असीमित छ । यद्यपि, केही अन्य प्रकारका हतियारको उपलब्धता भने थोरै कम छ, जसलाई हामीले दैनिक रूपमा आपूर्ति गरिरहेका छौँ ।’
इरानसँगको तनावका बीच अमेरिकी सेनाले आफ्नो प्रमुख क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका करिव ८० प्रतिशत इन्टरसेप्टर (प्रतिरोधी क्षेप्यास्त्र) प्रयोग गरिसकेको र सैन्य कमान्डरहरूले गोलाबारुदको भण्डार खतरनाक रूपमा न्युन भएको चेतावनी दिएको समाचार सार्वजनिक भएको दुई दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।
१३. थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो
थाइल्याण्डको नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रवार बिहान भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवार बिहान भएको सो हिंस्रक आक्रमणमा परी ज्यान गुमाउनेहरूको संख्या बढेर सात पुगेको हो । घटनाको विस्तृत विवरण र क्षतिको सम्बन्धमा थप जानकारी प्राप्त हुने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
१४. दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते
दक्षिणी लेबनानको टायर शहर नजिकै रहेको बुर्ज अल–शेमालीमा बिहीवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) काअनुसार इजरायली ड्रोन र लडाकु विमानहरूले बुर्ज अल–शेमालीको अल–मलाअब टोललाई लक्षित गरी श्रृंखलावद्ध आक्रमण गरेका थिए । आक्रमणपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरू त्रसित भई सुरक्षित स्थानतर्फ भागेका छन् । लेबनानी सेना र आपत्कालीन उद्धार टोलीहरूले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै भग्नावशेषमा कोही फसेका छन् कि भनी खोजी कार्य गरिरहेका छन् ।
१५. मलेसियाको सेवा उत्पादन मूल्य सूचकांकमा वृद्धिः दोस्रो त्रैमासिकमा २.९ प्रतिशतले बढ्यो
सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको सेवा उत्पादन मूल्य सूचकांक (एसपीपीआई) वार्षिक २.९ प्रतिशतले वृद्धि भएको छ । मुख्य सेवा क्षेत्रहरूको मूल्यमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको २.१ प्रतिशतको तुलनामा यस अवधिमा सूचकांकको वृद्धिदर थप तिब्र भएको बिहीवार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । मलेसियाको तथ्याङ्क विभागले जारी गरेको विज्ञप्तिअनुसार आवास तथा खाद्य र पेय पदार्थ सेवा सूचकांकमा सबैभन्दा उच्च ६.४ प्रतिशतको वृद्धि रेकर्ड गरिएको छ । पहिलो त्रैमासिकमा यस क्षेत्रको वृद्धि दर ५.७ प्रतिशत रहेको थियो । त्यसैगरी, यातायात सूचकांक अघिल्लो त्रैमासिकको ३.८ प्रतिशतको तुलनामा बढेर ५.६ प्रतिशत पुगेको छ भने शिक्षा क्षेत्रमा २.१ प्रतिशतको वृद्धि देखिएको छ ।
१६. सुरक्षा र क्षेत्रीय मामिलामा सहकार्य सुदृढ बनाउने टर्की र सिरियाको प्रतिवद्धता
टर्की र सिरियाले सुरक्षा तथा क्षेत्रीय मामिलामा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री हाकान फिदान र सिरियाली विदेशमन्त्री असाद अल–शैबानीबीच बिहीवार अंकारामा भएको भेटवार्तामा यस्तो सहमति भएको हो । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै टर्कीका विदेशमन्त्री फिदानले टर्की र सिरियाको समृद्धि र स्थिरता एकअर्कासँग अभिन्न रूपमा जोडिएको बताउनु भयो । उहाँले आतंकवाद नियन्त्रण, रक्षा र सुरक्षाका क्षेत्रमा सिरियासँगको सहकार्य र समन्वयलाई टर्कीले अझ गहिरो बनाउने उल्लेख गर्नुभयो ।
१७. ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक
वासिङ्टनस्थित एक अमेरिकी संघीय पुनरावेदन अदालतले ह्वाइट हाउसमा ४० करोड अमेरिकी डलरको भव्य बालरुम (नाचघर) निर्माण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम गैरकानूनी भएको फैसला सुनाएको छ । शुक्रवार भएको उक्त फैसलामा अदालतले सो परियोजनामाथि रोक लगाएको हो । अमेरिकी जिल्ला अदालत (डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट) को पुनरावेदन इजलासले २–१ को बहुमतका आधारमा यस्तो फैसला सुनाएको हो । फैसलामा राष्ट्रपति ह्वाइट हाउसको अस्थायी भाडावाल मात्र भएको र त्यसको मालिक नभएको उल्लेख गरिएको छ । अदालतले भनेको छ, ‘ह्वाइट हाउस र यसको कार्यकारी निवासमा राष्ट्रपतिको कुनै संवैधानिक अधिकार छैन । यो सम्पती वर्तमान र भविष्यका सबै राष्ट्रपतिहरू र अमेरिकी जनताको प्रयोगका लागि निर्माण र संरक्षण गरिएको हो ।’
१८. ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव
‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गर्नुभएको हो । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नागरिकको जीवनस्तर सुधारका लागि भन्दै उहाँले मोर्चाको भावी कार्यदिशा स्पष्ट पार्नुभयो । प्रश्तावित अवधारणामा युवा स्वरोजगार, सामाजिक सुरक्षा, उद्यमशीलता र प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकतामा राखिएको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप, पूँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति मोर्चाले अघि सारेको छ । यस्तै, ‘डिजिटल नेपाल’को अवधारणा अनुरूप युवाहरूलाई प्रविधिसँग जोड्दै आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप र अनुसन्धानलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।
१९. ‘राजनीति डर्टी गेम हो, सत्ता पुग्न टेढा–मेढा बाटो हिँड्नुपर्छः महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताउनुभएको छ । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उहाँले बताउनु भयो । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उहाँले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा ‘डर्टी गेम’ हो । यसमा अष्टावक्रझैँ टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’
२०. अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताउनुभएको छ ।
शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताउनुभएको हो । उहाँले देशमा राजनीतिक दल र नेतृत्वप्रति जनताको निराशा बढिरहेका बेला नयाँ राजनीतिक मोर्चाको गठन आवश्यक परेको दाबी गर्नुभयो । हाल मुलुक अराजकता तर्फ धकेलिएको उहाँको आरोप छ । अराजकतालाई परास्त गरेर देशलाई संविधानवादमा संचालन गर्न लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी र समाजवादी धारका शक्तिहरूलाई समेटेर अग्रगामी मोर्चा गठन गरिएको उहाँले बताउनु भयो ।
२१. सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ ः रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारले नागरिकमाथि करको भार थोपरेको पनि आरोप लगाउनु भयो । सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उहाँको भनाई छ । चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिनुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij