२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले प्रतिनिधिसभामा अनौठो शैलीमा विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर अन्य स्थानमा सार्न लागेको आरोप लगाए । सरकारको निर्णयको विरोधस्वरूप आफू आज दिनभर सदनमा उठेर मौन बस्ने घोषणा उनले गरेका हुन् ।
“ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्ने भनेको छ। यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु,” सांसद यादवले भने ।
उनले यसअघिका सरकारले उक्त आयोजनाका लागि बजेट समेत विनियोजन गरिसकेको दाबी गरे । उनका अनुसार सुरुमा २० करोड रुपैयाँ र त्यसपछि थप २ करोड रुपैयाँ ट्रमा सेन्टर निर्माणका लागि छुट्याइएको थियो ।
बजेट सुनिश्चित भइसकेको र प्रक्रिया अघि बढिसकेको आयोजनालाई वर्तमान सरकारले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण सार्न खोजेको सांसद यादवको आरोप छ ।
जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोजना अन्यत्र सार्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै उनले विरोध जारी रहने चेतावनी दिए । सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आफ्नो स्थानमा बस्न आग्रह गरे पनि सांसद यादव भने उठेरै मौन विरोधमा रहे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij