२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० का नेता राम कार्की पार्टीबाट अलग भएका छन् । प्रलोपा औपचारिक रूपमा विभाजन भएपछि कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा आफू सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेकोको जानकारी दिँदै उनले ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ अनुबन्धित रहने प्रतिबद्धता जनाएका छन् ।
बुधबार प्रलोपाबाट साबिकका नयाँ शक्ति समूह सहमतिमै पार्टीबाट अलग भएका थिए । प्रलोपामा आइपुगेका अधिकांश नेताहरू संसदीय जडतामा फसेका पार्टीहरूबाट आएकाले छोटो समयमै पार्टी विभाजित हुन पुगेको उनको निष्कर्ष छ ।
पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको उनको भनाइ छ ।
नेताहरूको एउटा समूहले एउटा पुरानो दलको हात समात्यो भने नेताहरूको अर्को समूह अर्कै पुरानो दलसँग हातेमालो गर्न पुग्यो र यसरी वैचारिक रूपमा निर्वाचनताका विघटित भएको पार्टी आज आएर सङ्गठनात्मक रूपमा पनि विभाजित भएको कार्कीले निष्कर्ष निकाले । सौहार्दपूर्ण तरिकाले अलग भएको भन्दै कार्कीले दुवै समूहलाई शुभकामना दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij