२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
मङ्गलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरीप्रति आलोचना गरेका हुन् । सांसद राईले मुलुकमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको अभाव र चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको उल्लेख गर्दै सरकार यसप्रति संवेदनशील नभएको बताएका छन् ।
संसदको कामकारबाहीका विषयमा टिप्पणी गर्दै राईले सरकारले संसदलाई पर्याप्त बिजनेस दिन नसकेको र संसदीय अभ्यासलाई उपेक्षा गरेको बताएका छन् । पूर्वी नेपालमा देखिएको साम्प्रदायिक संवेदनशीलता र सुरक्षा चुनौतीका विषयमा सरकारले संसदलाई औपचारिक जानकारी नगराएकोमा समेत उनले आपत्ति जनाएका छन् ।
सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको हैसियतले आफूले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरेको बताउँदै उनले शान्ति सुरक्षाको अवस्थाबारे जवाफ दिन गृहमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग गरेका छन् ।
उनले भने, ‘जनता ग्यासका लागि लामवद्ध हुनुपर्ने अवस्था छ, तर सरकारले यस समस्याको समाधानका निम्ति कुनै ठोस पहल गरेको छैन । सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा आफ्ना वाचा र प्रतिवद्धताबाट विमुख देखिएको छ । सदन लगातार चल्नुपर्नेमा सरकारले काम दिन सकेको छैन । सरकार दिशाहीन र ढुलमुल अवस्थामा छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij