२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भेटवार्ता गरेका छन् ।
मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतासमक्ष जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास आयोजना र स्थानीय समस्याबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । उनीहरूले सुदूरपश्चिमको राजनीतिक अवस्था, विकासका सम्भावना र चुनौतीबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सांसदहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माणलगायत विषय उठाएका थिए ।
यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
भेटमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij