Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

खोप कूटनीतिमा राष्ट्रपतिको सक्रियता बढ्न थाल्यो, सी जिङपिङसँग पौने घण्टा टेलिफोन संवाद

खोप कूटनीतिमा राष्ट्रपतिको सक्रियता बढ्न थाल्यो, सी जिङपिङसँग पौने घण्टा टेलिफोन संवाद


  • 6.2K
    Shares

    खोप कूटनीतिमा राष्ट्रपतिको सक्रियता बढ्न थाल्यो, सी जिङपिङसँग पौने घण्टा टेलिफोन संवाद

    काठमाडौं । महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्रप्रमुखको समेत देखिने सक्रियता बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् ।

    अहिले केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको छ । कोभिड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।

    दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

    जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

    दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

    नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएकी छन् ।

    नेपाल भाइरस महामारीको कठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राखेको बताइन्छ ।

    नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवाद समेत दिइन् ।

     

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १७:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij