२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक १२.८३ अङ्कले घटेर २६२०.९२ विन्दुमा ओर्लिएको हो ।
बिहीबार बजारमा कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब ७१ करोडमा सीमित भएको हो ।
आज कुल ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये जम्मा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बजारका १३ समूहका सूचकमध्ये आज अन्य बाहेक सबै समूह घटेका छन् । सबै समूहका सूचकको घटबढ एक प्रतिशत भन्दा कम रहेको छ ।
बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एसवाई प्यानलको मूल्य ९.०९ प्रतिशत र हिमस्टार ऊर्जाको मूल्य ८.०९ प्रतिशतले बढेको छ। आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डमा १० प्रतिशत मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नै शीर्ष स्थानमा रह्यो । यो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।
त्यसैगरी शिवम् सिमेन्टको १३ करोड ८० लाख र बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij