Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

अनिश्चित बन्दै नेपालको राजनीति !

अनिश्चित बन्दै नेपालको राजनीति !


  • 988
    Shares

    अनिश्चित बन्दै नेपालको राजनीति !
    images

    भाद्र २३ र २४ गते भएको ( जेन जी) युवा पुस्ताहरुको आन्दोलनले नेपालको राजनीतिलाई अस्थिर र अनिश्चित बनाईदिएको छ । यद्यपि उक्त आन्दोलनले तत्कालिन सत्तामा रहेका पार्टीहरुको सरकारलाई अपदस्थ गर्न सफल भयो । तर, त्यस भन्दा पछिको राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने नेपालको राजनीति पुनः अनिश्चय र यथास्थितिको अबस्थामा नै फर्किएको छ । राजनीतिले परिवर्तनको नयाँ कोर्स समात्न सकेको छैन् ।

    करिब तीन दशक देखिको भ्रष्टाचार, कुशासनले राजनीति अर्थाेपार्जन गर्ने द्रुत मार्ग एवँ ग्ल्यामर फिल्ड बन्यो । कुनै ब्यापार ब्यवशाय पेशा समेत नभएका नेता÷ कार्यकर्ताहरुको जीबनस्तर एकाएक अस्वभाविक युरोपियनस्तरको बन्यो छोटो समयमा । जसले गर्दा राजनीतिक पार्टीका नेता÷कार्यकताहरु र सर्वसाधारण जनता बीचको आर्थिक असमानताको खाडल अत्यन्त फराकिलो बन्यो ।

    जसको परिणाम युवाहरुमा तिब्र असन्तोष र आक्रोस उत्पन्न हुन पुग्यो ।  जुन आन्दोलनकोरुपमा बिस्फोट भयो । तर, सोही आन्दोलनको बिषयलाई माध्यम बनाएर ‘आन्दोलन एक उद्देश्य अनेक’ भने झै फरक÷फरक प्रकारका उद्देश्यहरु लिएर बिभिन्न स्वार्थ समुहहरु आन्दोलनमा सरिक भए । जसको कारण आन्दोलन शान्तिपूर्णरुपमा नभै हिँसात्मक बन्न पुग्यो ।

    पहिलो दिनको आन्दोलन हिंसात्मक बनेको कारण पहिलो दिन नै २१ जना कलिला युवा÷ युवतीहरुको ज्यान गयो । कैयौं युवा÷युवतीहरु घाइते हुन पुगे । जसले गर्दा २४ गतेको आन्दोलन अझ उग्र र ध्वँसात्मक बन्यो । २३ गतेको हिँसा र दमनले भाद्र २४ गतेको आन्दोलनले नेपालका कैयौ ऐतिहासिक धरोहरहरुलाई समाप्त गर्ने कार्य गर्यो । नेताहरुका निजी निवास, नेपाल सरकारका प्रशासनिक भवन सिंहदरवार, सर्बाेच्च अदालत , प्रहरीका कार्यालयहरु साथै अख्तियार जस्ता अत्यन्त महत्वपूर्ण संरचनाहरु जलाउने र ध्वँस गर्ने कार्य गरिए । जसले के स्पष्ट पार्दछ भने दोश्रो दिनको आन्दोलनमा बिभिन्न प्रकारका घुसपेठियाहरुले आफ्नो स्वार्थ अनुसारको राष्ट्रिय सम्पत्तिको बिनास गरे ।

    दोश्रो दिनको आन्दोलनरुपी बिध्वंसात्मक कार्य कुनैपनि हिसावले राजनीतिक थिएन । फगत भ्रष्टहरु तथा स्वदेशी तथा बिदेशीहरुले आ–आफ्ना स्वार्थ पुरा गर्न,प्रमाणहरु नष्ट गर्न अपनाईएका अपराधिक गतिविधिहरु थिए । उक्त २४ गतेको तोडफोड र आगजनीलाई कदापि राजनीतिक आन्दोलन भनेर मान्न सकिदैन् । र, क्षमा पनि गर्न सकिदैन ।

    बिनासकारी र विध्वंसात्मक कार्य नेपालको लागि राजनीति गर्छु भन्ने कसैले पनि कल्पना  गर्न सक्दैन् । तसर्थ उक्त कार्य अपराधिक थियो र नेपाल राष्ट्रको स्वाभिमान र सार्वभौमिकता बिरुद्धको प्रहार थियो भन्नेमा शंका छैन् । 
     नेपालमा दुईहजार छयालिस र दुईहजार त्रिसठ्ठीमा  दुईवटा फरक÷फरक प्रकारका राजनीतिक आन्दोलन पछि परिवर्तनहरु भए । पहिलो राजनीतिक परिवर्तनले नेपालमा तीस बर्ष देखि बहाल रहेको तत्कालिन निर्दलीय पंचायती ब्यवस्थालाई अन्त्य गर्यो  र बहुदलीय ब्यवस्थाको स्थापना गर्यो । जुन बहुदलीय ब्यवस्थाको पुनःस्थापना स्वभाविक मान्न सकिन्थ्यो । विश्वब्यापि लहरको परिणाम पनि थियो ।  

    जहाँसम्म दुईहजार त्रिसठ्ठीको परिवर्तनको बिषय छ, माओवादीको दशबर्षे हिंसात्मक बिद्रोहको जगमा भएको थियो । जुन बिद्रोह नै आफैमा प्रायोजित थियो भन्ने कुरा आन्दोलनका कमाण्डरले नै स्वीकार गरिसकेका छन् । जुन आयातित राजनीतिक परिवर्तनले नेपालमा करिव ५०० बर्षको इतिहास भएको राजतन्त्रलाई अन्त्य गर्यो । र नेपाललाई अस्थिरता तर्फ प्रवेश गरायो ।

    उक्त परिवर्तनले नेपाललाई एकात्मक राज्य ब्यवस्थाबाट संघीय ब्यवस्थामा लैजाने कार्य  गर्यो । साथै विश्वकै एकमात्र हिन्दु राष्ट्र नेपाल, आफैमा एउटा बिशिष्ट परिचय थियो त्यसलाई मेट्दै नेपाललाई धमनिरपेक्ष राष्ट्र बनाइयो ।
     पछिल्लो राजनीतिक परिवर्तन २०६३ ले नेपालमा आयातित राजनीतिक पद्धतिलाई आयात गर्ने कार्य गर्यो । उक्त परिवर्तनको नाउँमा ल्याइएको प्रायोजित राजनीतिक प्रणाली अहिले नेपालको अस्थिरताको कारक बनिरहेको छ । जुन पद्धतिको कारण नेपालमा यो संविधान बहाल भएसम्म एकल बहुमतको सरकार बन्नै नसक्ने अबस्था सृजना हुन पुगेको छ । म्युजिकल चेयर जस्तो सरकारको परिवर्तनले नेपाल सधै अस्थिरताको दलदलमा भासिने निश्चित छ । जुन हामिले २०७९ को आम निर्वाचन पछि भोगीसकेका छौ ।

    त्रिसठ्ठीको परिवर्तन पछि नेपालमा एक प्रकारको कुलिनतन्त्रीय ब्यवस्थाको शुरुवात हुन पुग्यो । राजनीतिक पार्टीका नेताहरुले आफूहरुलाई संविधान र कानून भन्दा माथि मात्र होइन, आफूहरुलाई अभिजात्य बर्गका मानिसहरु भएको जस्ता गतिविधिहरु गरे । आफ्नै पार्टीहरुमा समेत फरक मतलाई दमन गर्ने नीति नेतृत्वबाट भयो । युवा नेतृत्व र फरक बिचार पार्टीमा प्रवेश गर्ने संभावनालाई समेत अन्त्य गरियो ।

    जसको प्रत्यक्ष प्रमाणकोरुपमा हालसम्म पार्टीको नेतृत्वतहमा रहेका प्रत्येक पार्टीका नेताहरु तीसको दशक देखि अहिले सम्म नेतृत्वमा बहाल छन् । उनिहरुको नीति हेर्दा कहिल्यै पनि अबकासमा नजाने ( नेभर रिटायर्ड) को अबस्थामा उनिहरु रहेका छन् । जसले युवाहरुमा निराशाको अबस्था सृजना हुन पुग्यो ।  

     प्रत्येक राजनीतिक परिवर्तन पछि तत्कालिन युवा पुस्तालाई राजनीतिमा सहभागी गराउदै नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउदै आफू सल्लाहकारको भुमिकामा रहने नीति कुनैपनि राजनीतिक पार्टीले प्रयोगमा ल्याएनन् । बरु, उनिहरु सदावहाररुपमा नेतृत्व कब्जा गर्ने र सत्तामा रहने नीति बनाउन ब्यस्त रहे ।

    जसले गर्दा बिभिन्न क्षेत्रमा भ्रष्टाचार, बेथिति र राज्यका प्रत्येक अंगहरुमा पार्टीकरण मात्र होइन, ब्यक्तिकरण गर्ने नीति अख्तियार गरिए । साथै आफ्नो नेतृत्वलाई चुनौतिबिहिन बनाउनको लागि कार्यकर्तालाई ब्यवस्थापन गर्न यति सानो मुुलुकमा समेत संघीय पद्दति लागु गरियो । जुन संघीय प्रणालीले गर्दा  रोजगारी सृजना हुन सकेन् । राष्ट्रमा युवा पलायनताको रोगले जरा गाड्यो । बेरोजगारी, असुरक्षा, करको बोझले युवाहरुमा चरम असन्तोष सृजना हुन पुग्यो । त्यहि असन्तोषको जगमा युवा पुस्ताहरुको आबरणमा स्वदेशी तथा बिदेशी घुसपैठीयाहरुले नेपालका ऐतिहासिक धरोहरहरु नष्ट गर्ने अबशर पाए ।

    अहिले त्यहि ध्वँसात्मक आन्दोलनको जगमा पुरानो सरकार अपदस्थ भएको छ । तर उक्त परिवर्तनको जगमा युवा पुस्ता ( जेन जी) संग सरोकार नै नराख्ने समुह एकाएक सरकारमा बिराजमान भएको छ । भन्नको लागि युवा पुस्ताहरुको सामाजिक सञ्जाल ‘डिस्कोर्ड’मा भोटिङ गरी प्रधानमन्त्री छानिएको भनिएको थियो । तर, अहिले प्रधानमन्त्रीका जेनजीको आधिकारिक मानिस आफुलाई थाह नभएको जस्ता अभिब्यक्ति र अनभिज्ञताले सरकार कस्को पहलमा बन्यो ? के स्वार्थको लागि सरकार बन्यो भन्ने बिषय अनुत्तरित बनेको छ ।

     यो सरकार जेनजी (युवा पुस्ता) हरुको होइन भने यो सरकार कस्को हो ? यो सरकार के चाहन्छ ? भन्ने प्रश्न गम्भीर बनेको छ । यदि सरकार जेनजीहरुको भए उनिहरुकै नेतृत्वमा सरकार बन्नु पर्दथ्यो । तर अहिले नत उनिहरुको नेतृत्वमा सरकार गठन भएको छ , नत उनिहरुका मागहरु तर्फ नै सरकार गम्भीर छ ।

     सरकार जेनजीहरुको भएकोभए पहिला नै यो कथित संविधानको खारेजी गरी अन्तरिम संविधान जारी हुन्थ्यो । तर अहिले सरकारले संविधानलाई जोगाउने नीति अख्तियार गरेको छ । यद्यपि सरकारको गठन भएपनि प्रधानमन्त्री शुसिला कार्की किँकर्तब्यबिमुढ भएकी छिन । नत उनले युवा पुस्ताहरुको शासकीय स्वरुपको माग पुरा गर्ने हैसियत राख्छिन, नत भ्रष्टहरुलाई दण्ड दिने कडा नीति अख्तियार गर्न नै सक्छीन । उनी हालको संविधान भित्र रहेर सरकार चलाउन खोजेकी छन । जुन कुनैपनि हिसाबले अहिलेको समस्यालाई निकाश दिन असमर्थ छ ।

    अहिलेको सरकार नेपालमा राजनीतिक स्थिरता ल्याउनको लागि युवापुस्ताहरुले उठाएका मागहरुलाई पुरा गरी देशमा शान्ति बहाल गर्ने दिशा तर्फ उन्मुख हुनुको सट्टा नितान्त चुनावी सरकारको जस्तै चुनावको वकालत गरिरहेको छ । चुनाव गर्नु मात्र अहिलेको समस्याको समाधान किमार्थ होइन ।

     यो सरकार के कुरामा स्पष्ट हुनुपर्दछ भने अहिलेको सविधानले निकाश दिन नसकेको कारणले नै यो अबस्था सृजना भएको हो । यदि यो सरकारलाई शंकाको लाभ दिने हो भने, यो सरकारले आवश्यकताको सिद्धान्तलाई हेरेर नेपालमा शान्ति बहाल गर्नको लागि यो संविधानलाई खारेज गर्नुपर्छ । आन्दोलन पछि संविधान खारेज गरेको नजिर २०४६ र २०६३ हामि संग छ । 

    युवा पुस्ताको बिद्रोहको म्यान्डेट अनुसार भ्रष्टहरुलाई शिघ्रती शिघ्र कानूनको कठघरामा उभ्याउनुपर्छ । अहिले पनि पुराना पार्टीका मुख्य भ्रष्टहरु आफू नै जेनजीको एजेण्डा बोक्ने पार्टी भएको र अत्यन्त सदाचारी नेता भएको जस्ता अभिब्यक्ति दिन थालेको छन् । आफ्ना पार्टीका युवाहरुलाई जेनजीहरुको एजेण्डालाई हाइज्याक गर्न सिकाईरहेका छन् । 


    अहिलेको समस्यालाई वास्तविकरुपमा समाधान खोज्ने हो भने अब्यवहारिक बिदेशीले दिएको राजनीतिक पद्धति र संविधान खारेज गरी अत्यन्त चुस्त र सहज एवँ नेपालको माटो सुहाउदो पद्धतिको थालनी गर्नपर्छ । अन्यथा नेपाल लामो अनिश्चिता र अस्थिरताको दलदलमा फस्न सक्छ । यस तर्फ ध्यान जाओस ।  

    प्रकाशित मिति :कार्तिक ५ २०८२ बुधवार - १४:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij