Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेललाई मेरो खुल्ला पत्र

नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेललाई मेरो खुल्ला पत्र


  • 309
    Shares

    नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेललाई मेरो खुल्ला पत्र
    images

    मन्त्री ज्यु ! नमस्ते, आराम हुनुहुन्छ । सर्वप्रथम त यहाँलाई नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त हुनुभएकोमा ढिलै भएपनि यहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    झन्डै २५ बर्ष भन्दा लामो पत्रकारिता पेशामा अनुभव संगालेर आउनुभएको यहाँ एक त आफैंमा दक्ष हुनुहुन्छ । र यहाँ मन्त्री बन्दा म जस्ता कयौं सञ्चारकर्मीहरु खुशी छौं । यहाँको पत्रकारितासंग लोभिएर पछ्याउँदै म पनि झन्डै १५ बर्षदेखि निरन्तर यसै सञ्चारकर्ममा आबद्ध छु । खुशी लाग्छ, देशले चाहेको व्यक्ति मन्त्री भएको देख्दा हामी आम पत्रकारिता जगत खुशीले गदगद भएका छौं ।

    म यहाँसंग कुनै व्यक्तिगत स्वार्थ अनि फाइदाका लागि नभई देश र आम नागरिकका लागि हित हुनेगरी कामको अपेक्षा गरेको छु । र पक्कैपनि यहाँले यि काम पुरा गर्नुहुनेछ । भन्नेमा म पूर्ण आशावादी छु ।

    हुन त, हिजोसम्म अरुलाई प्रश्न गरेर नथाक्ने तपाईं आज आफैं प्रश्नको सामना गर्दै जवाफ दिने ठाउँमा हुनुहुन्छ । यानिकी प्रश्न गर्न जति सहज जवाफ दिन पक्कै छैन । यहाँले मन्त्री भएको पहिलोदिन जुन निर्णय गर्नुभयो । काठमाडौंका १० ठाउँहरुमा निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने हुनत यो असाध्यै आम नागरिकका लागि राम्रो सुबिधा हो । तर यहाँले निर्णय गर्दा गाउँ बस्तीलाई चटक्क बिर्सिएको देखियो । अझैपनि त्यस्ता कयौं गाउँहरु छन् । त्यहाँ न मोबाइल फोन छ, न इन्टरनेट, न टेलिकमको टावर जहाँ अनगिन्ती समस्या छन्, मोबाइल फोनमा नेटवर्क नटिप्दा बिरामी पर्दा अस्पतालसम्म पुग्नको लागि एम्बुलेन्सको सहायता लिन नसक्दा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । त्यहाँसम्म यहाँको ध्यान पुग्न सकेन भन्ने लाग्यो । अर्को यहाँले जेनजी पुस्ताको आन्दोलनबाट नै देशको सूचना प्रविधि तथा सञ्चार मन्त्री बन्ने सुबर्ण अबसर पाउनुभयो तर यहाँ घाइते भएका तथा मृतकका परिवारलाई पहिला नभेटी यहाँ अन्यत्र नै अलमलिनु भयो । खैर केही छैन, तर आगामी दिनमा जनताको हित हुनेगरि काम गर्नुहुनेछ भन्ने आशा लिएको छु ।

    मन्त्री ज्यु ! देशमा अझै बिधिको शासन निर्माण नहुँदा लगाम बिनाको घोडा जस्तै बनेको छ । मलाई अचम्म लाग्छ, प्रेस स्वतन्त्रता छ भन्दैमा पुष्टि नभएका विषयमा आफैं बिज्ञ जस्तो गरी कपोकल्पित समाचार सम्प्रेषण गर्ने प्रवृत्ति अहिले समाजमा बढ्दो छ । 

    हिजोआज केही नाम चलेका मिडियाहरुमा रास्वपाको निर्णय : बालेन घिसिङ र रविबीच जुट्यो सहमति बन्ने भए अब घिसिङ सभापति भनेर छ्यापछ्याप्ती समाचार आएको देखें । यि यस्ता समाचार विभिन्न समयमा विभिन्न पार्टीका आइरहन्छन् । छ्या घरीघरी नेपाली पत्रकारिता देखेर दया लाग्यो । भ्युज र पैसाको लोभमा जे मन लाग्यो त्यही लेख्न पाइन्छ ? बन्द कोठाभित्र बसेर आँखा चिम्लिएर, कानमा तेल हालेर समाचार लेख्ने प्रवृत्ति अन्त्य नभएसम्म यो देश बिकास हुनै सक्दैन । भनिन्छ, देश बिकासमा मिडियाको ठुलो हात हुन्छ । तर अपुष्ट भ्रामक समाचारले देशलाई कतातिर दोहोर्याउछ बडो चिन्ता लाग्न थाल्यो मन्त्री ज्यु !

    जनतालाई हुँदै नभएको भ्रम छर्ने जुन खालको अभ्यास सिर्जना हुँदैछ । यसको अन्त्य हुन जरुरी म देख्दछु । अनि अर्को बिकराल समस्या अन्तर्वार्ता लिने अनि भ्युज र पैसाको लोभमा राम्रा विषयलाई बङ्याएर काटेर नराम्रा गलत सन्देश प्रवाह गराउन अगाडि र पछाडिका क्लिप बनाएर हाल्ने प्रवृत्ति पनि बढ्दो छ । यस्तो खालको गलत भ्रम छर्ने जुनसुकै मिडिया भएपनि कानुनी दायरामा ल्याउन अपरिहार्य छ ।

    अनि अर्को महत्त्वपूर्ण कुरा त, मन्त्री ज्यु ! भन्नै बिर्सिएछु त्यो के हो भने, समाजमा यो पार्टी र त्यो पार्टीको पत्रकार भन्ने छ । कुनै समय मिडियाका नामले चिनिने पत्रकार अहिले अगाडि पार्टीको ट्याक लगाएर उ फलानो पार्टीको पत्रकार भन्ने छ । यस्तो पार्टीगत प्रवृत्ति रहेसम्म जनताले कहिल्यैं पाउदैनन् सत्य सूचना भन्ने लाग्छ । त्यसैले पत्रकारका विभिन्न भातृ संगठनहरु हटाएर महासंघ मात्र राख्न पर्यट्न गर्नुहोस् मन्त्री ज्यु ! किनकी पत्रकारिता देशको चौथो अंग हो । पार्टीगत पत्रकार बन्न आबश्यक छ, भन्ने मलाई लाग्दैन । उसो त, विभिन्न पेशामा भएका भातृ संगठनहरुको खारेजीको विषयपनि कुनै समय उठेको थियो । अर्कोकुरा अझैपनि केही छापा तथा संचार माध्यममा श्रमजीवी पत्रकारले न्युनतम पाउनुपर्ने सेवा सुबिधा तथा तलब पाउन नसकेको अवस्था छ । पत्रकारितामा नै भबिस्य देखेर यो देशकै लागि केही गर्नुपर्छ भन्ने अभिलाषा बोकेर दशौं बर्ष देखि निरन्तर पत्रकारिता गरेका म जस्ता हजारौं पत्रकारका लागि स्वदेशमै बसेर जहाँन परिवार पाल्न सक्ने वातावरणको सिर्जना गर्नुहोस् । हुनत, यहाँ आफैं पत्रकारिताको पृष्ठभुमिबाट आउनुभएको छ । सायद मलाई भन्दा बढी यस क्षेत्रको समस्यामा यहाँ जानकार हुनुहुन्छ यसमा बढी म जान्ने हुन चाहिन मन्त्री ज्यु !

    कहिलेकाही लाग्छ, सायद हामी सबै पत्रकारलाई लाग्दो हो, कस्तो पेशामा अड्किए भन्ने हो पक्कै लाग्छ । अरुका समस्या औल्याउँदै लेख्ने, बोल्ने हामी पत्रकार आफू मरेर अरुका लागि कलम चलाउनुपर्छ । तर बिडम्बना हामी पत्रकारका समस्या कसैले देख्दैन । आजसम्म यो देशमा भएका सायद धेरै नेताहरु पत्रकारिताको पृष्ठभुमिबाट नै आएको इतिहास छ । तर ति नेताहरु जुनदिन देखि राजनीतिमा आए त्यहाँदेखि बिर्सिए पत्रकारिता क्षेत्रका पिडा वास्तवमा हो ।

    मन्त्री ज्यु ! म कहिलेकाही अचम्ममा पर्छु, कुनै समय रेडियो सुनेर हुर्किएको हाम्रो पुस्ता जुन बेला मोबाइल फोन थिएन । सूचना खबर आदानप्रदानका लागि महिनौं लगाएर चिठीपत्र कुर्नुपर्थ्यो । पछि बिस्तारै लेनलाइन तथा सिडियम फोनहरु आए जहाँ घण्टाैं लगाएर फोन गर्नुपर्थ्यो । अहिलेको जस्तो नयाँ कपडा जुत्ता, चप्पल थिएन । भएपनि बुवाआमाले त्यो बेला किन्न सक्ने अवस्था थिएन । काठ, ढुङ्गा, माटो अनि खरले छाएको घरमा बसेर टुकी, मैन बालेर पढ्ने ५०/५५ साल सम्मका हाम्रो पुस्ता नै यो अनुभव संगाल्न पाउने अन्तिम पुस्ता होला भन्ने लाग्छ । अहिले घरका दैलादैलामा गाडी, बिजुली, पानी, बत्ति जस्ता अनेकौं सुबिधा छन् । कुनै समय हाम्रो पत्रकारिता पेशापनि अरु भन्दा कम थिएन । महानायक राजेश हमाल जस्तै चर्चित हामी सेलिब्रेटी थियौं । जहाँ सूचना समाचारका लागि रेडियोमा जनताले हामीलाई सुन्नुपर्थ्यो । यि यस्ता अनेकौं सुबिधा अनि समस्या भोगेर स्वदेशमै केही गरौं भनेर पत्रकारितामा लागेको म कहिलेकाही झस्किन्छु ।

    रेडियो नेपालमा सबेरै आउने समाचार अखबार, घटना बिचार, बिबिसी अनि त्यहाँ बोल्ने पत्रकार पुरुषोत्तम दाहाल, डा. नवराज लम्साल, ब्रीजकुमार यादव, गोपाल बस्नेत, हरिशरण लामिछाने, कोमल ओली लगायतका थुप्रै अग्रज पत्रकारहरु यता चितवनका पत्रकार बासुदेब मरहठ्ठा, कृष्ण आचार्य, सुरज पौडेल, बिजयराज अधिकारी, राजु सापकोटा, गोबिन्द घिमिरे, चाँदनी हमाल, अनिल ढकाल, सुवास पण्डित, तीर्थ नेपाल, द्वारिका नेपाल, बिपिन बराल, संतोष देउजा, अजित देवकोटा, प्रकाश ज्ञवाली, अनिल भट्टराई, राजेश घिमिरे, समा थापा् ईश्वरी अधिकारी, रामकान्त पौडेल आदि यि मध्ये केहीलाई प्रत्यक्ष नभेटेपनि उहाँहरुको आवाज रेडियोमा सुनेर हुर्किएको म कति पत्रकार त बिदेश पलायन भइसक्नुभएको छ । अनि उता, देशकै चर्चित पत्रकार प्रेम बानियाँ, नारायण श्रेष्ठ जस्ता कुशल र क्षमतावान पत्रकार एकाएक बिदेश पलायन हुँदा झन अरु पत्रकारको यो पेशामा के भबिस्य होला भन्नेपनि लाग्छ ।

    मन्त्री ज्यु ! अब म नघुमाइकन न बङ्गाइकन सिधाकुरा त्यो पनि बुँदागत रूपमा राख्छु ।

    यहाँले गर्नैपर्ने कामहरु यस प्रकार छन् ।

    # जेनजी पुस्ताका मागहरू बमोजिम काम गर्नुहोस् । रगतको खोलो बगाएर भ्रष्टाचार, बेथिति अनियमितता अन्त्यका लागि ज्यानको आहुती दिने सहिद र तिनका परिवार तथा घाइतेहरुलाई कदापि नबिर्सनु र जेनजीका माग तत्काल पुरा गराउनु 

    # सर्वप्रथम त, पत्रकारका विभिन्न भातृ संगठनहरु हटाएर महासंघ मात्रै राख्ने निर्णय तत्काल गर्नुहोस् ।

    # श्रमजीवी पत्रकारका हकहित र अधिकार कार्यान्वयनमा जोड दिनुहोस् ।

    # पहिले सहरमुखी नभई गाउँमा निशुल्क इन्टरनेट सेवा, मोबाइल फोन तथा नेटवर्क/टावर आदिको व्यवस्था गर्नुहोस् ।

    # सूचना प्रविधिको पहुँचबाट टाढा रहेका दुरदराजका बस्तीहरुमा सहज सञ्चारको व्यवस्था गर्नुहोस् ।

    # बाढी, पहिरो, भु-क्षय जाने सम्भावित क्षेत्रका नागरिकका लागि सहज सञ्चार तथा सूचना आदानप्रदान र सचेतना गराउन पहल गर्नुहोस् ।

    # विपन्न नागरिकका लागि निशुल्क इन्टरनेट प्रदान गर्नुहोस् ।

    # सञ्चार क्षेत्रमा ब्याप्त भ्रष्टाचार र बेथितिको तत्काल अन्त्य गर्नुहोस् ।

    # श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक किटान गर्नुहोस् । कार्यान्वयन नगर्नेहरुलाई कानुनी दायरामा ल्याउनुहोस् ।

    # झन्झटिलो दर्ता प्रक्रियालाई सहज बनाउनुहोस् ।

    # सक्रिय पत्रकारहरुको निशुल्क विमा तथा उपचार सेवामा छुटको व्यवस्था ल्याउनुहोस् ।

    # विभिन्न यातायातका साधनहरुमा पत्रकार परिचय पत्रका आधारमा विद्यार्थीलाई जस्तै केही प्रतिशत छुट गरियोस् ।

    # सक्रिय पत्रकारहरुका लागि बेलाबेलामा तालिमको व्यवस्था ल्याउनुहोस् ।

    # कपोकल्पित र भ्रामक समाचार सम्प्रेषण गर्ने तथा अन्तर्वार्ता लिएर बोलेका कुराहरुलाई अघिपछिका कुराहरुलाई काटेर गलत सन्देश दिन खोज्ने वा व्यक्तिको मानहानी गर्ने जुनसुकै मिडिया भएपनि कानुनी दायरामा ल्याइयोस् ।

    # पत्रकारिताको आचारसंहिता उलंघन गर्नेलाई कारबाही गरियोस् ।

    # समाजलाई हतोत्साहित र दंगा फैलाउन भ्युज र पैसाको लोभमा जेपनि गर्ने प्रवृत्तिको अन्त्य गरियोस् ।

    # देश र समाजका लागि राम्रो काम गर्ने उत्कृष्ट पत्रकार तथा सञ्चारकर्मीलाई राज्यबाट सम्मानको व्यवस्था गरियोस् ।

    # र अन्तमा स्वदेशी तथा बिदेशी बाहिरी मुलुकको रिपोर्टिङ गर्न जानको लागि पत्रकारलाई सहज बनाइयोस् ।

    अन्त्यमा जाँदाजाँदै मन्त्री ज्यु ! रोटी मिठा चिल्ला कुरा मिठा खस्रा भन्छन् । कत्तिपनि झर्को नमानी यि विषयबस्तुहरुमा तपाईंको ध्यानाकर्षण होस् !  पत्रकार : अजित अधिकारी                                                                                                                                    

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - ११:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij