काठमाडौं । नियात्रा मूलतः यात्रा साहित्य हो । विश्व साहित्यमा जस्तै नेपाली साहित्यमा पनि नियात्रा लेखनको इतिहास निकै लामो छ । समकालीन नेपाली साहित्यको क्षेत्रमा नियात्रा लेखन निकै आकर्षक साहित्यिक विधाको रुपमा देखा परेको छ । नियात्रा लेखनको क्षेत्रमा क्रियाशील साहित्यकारहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । यीमध्ये उम्दा र सक्रिय नियात्राकारको रुपमा राजेन्द्रमान डंगोल अग्र पङ्क्तिकोमा देखा परेका छन् । यहाँ यिनै राजेन्द्र्रमान डंगोलकृत नियात्रा सङ्ग्रह ‘‘कैलाश कोरा’’ माथि संक्षिप्त समीक्षा गरिएको छ । ‘‘कैलाश कोरा’’ राजेन्द्रमान डंगोलले नेपालको काठमाडौंदेखि नेपाल–चीनको सीमा नाका रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको ‘कैलाश पर्वत’ र ‘मानसरोवर’ सँग साक्षत्कार हुन पुग्दा तय गरेको पैदाल तथा सडक (यातायातका साधन प्रयोग गरेर गरिएको यात्रा) को रोचक वर्णन हो ।
लेखक परिचयः
नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.-२ कपास खोरियामा वि. सं. २०२६ सालमा जन्मिएका राजेन्द्रमान डंगोल नेपालका समकालीन साहित्यका गतिशील र प्रभावशाली नियात्राकार हुन् । २०७६ सालमा ‘‘यात्राका पाइला’’ शीर्षकको नियात्रा सङ्ग्रह लिएर नेपाली साहित्यको रङ्गमञ्चमा प्रवेश गरेका डङ्गोलले २०७८ सालमा ‘‘पैतालामा हिउँ, आँखामा हिमाल’’, २०८० साल साउनमा ‘‘बादलडाँडा’’ शीर्षकका नियात्रा कृति नेपाल साहित्य भण्डारलाई दिएका डंगोलको चौथो नियात्रा कृति सन् २०२५ (२०८२ श्रावण) मा पब्लिकेसन नेपा लय, कालिकास्थान काठमाडौंले प्रकाशित गरेको हो । करिब तीन दशकदेखि नेपालको पर्यटन, यसमा पनि मूलतः पदयात्रा व्यवसायलाई आप्mनो मुख्य जीवनवृत्ति बनाउँदै आएका राजेन्द्रमान डंगोल समकालीन नेपाली नियात्रा साहित्यका सर्वाधिक गतिशील नियात्राकारको रुपमा स्थापित छन् ।
समीक्षित कृति परिचयः
‘‘कैलाश कोरा’’ ले आवरण पृष्ठसहित १७२ पृष्टमा पूर्णाकार ग्रहण गरेको छ । डंगोलले ‘‘कैलाश कोरा’’ मा आफूले १८ जुलाई २०२४ देखि २९ जुलाई २०२४ सम्म आफूले गरेको काठमाडौं-धुन्छे-रसुवागढी-केरुङ-सागा (सिगात्स)- मानसरोवर-धार्चेन- दिरापुक-जुथुलफुक-धार्चेन-सागा-केरुङ-काडमाडौंसम्म गरेको ११ दिन लामो यात्रा यात्रानुभूतिलाई ‘उन्मत्त भोटेकोशी: सीमापारको अभुभूति’, ‘विश्वको छानोको सौन्दर्य’, ‘उचाइसँगको मित्रता’, ‘मौन सारोवरमा आध्यात्मिक बिम्ब’, ‘किंवदन्तीको गुफा, शान्तिको पहाड’, ‘धार्चेनको कथा’, ‘मोक्षको पदचिह्न’, ‘रहस्यहरुमा रुमलिँदा’, ‘डोल्मा ला’, ‘हयग्रीब प्रतिबिम्ब’ र ‘अन्तिम पदचाप’ जूता १० वटा शीर्षकका नियात्राहरु मार्पmत् सम्प्रेषण गरेका छन् । यी नियात्राहरुमध्ये सबैभन्दा लामो ‘‘मोक्षको पदचिह्न’’ (१७ पृष्ठमा विस्तारित) हो भने छोटो ‘‘धार्चेनको कथा’’ (१३ पृष्ठमा विस्तारित) शीर्षकका नियात्रा हुन् । यिनमा नियात्राकार स्वयंले यात्राका दौरानमा अनुभूत गरेका दृश्य तथा घटना र दोस्रो व्यक्तिमार्पmत सुनिाएका मिथकहरुको प्रयोगले यसलाई अधिकाधिक निबन्धात्मक रङ्ग प्रदान गरेको छ ।
‘‘कैलाश कोरा’’ विशेषताः
प्रकृति र मानवसमाज नियात्रा लेखनको मूल स्रोत हो भने यसको कलात्मक र आकर्षक प्रस्तुति यसको आत्मा हो । नियात्राकार आफैँ प्रकृति र मानव समाजको संसर्गमा पुग्दा र तिनीहरूसँग अन्तक्र्रिरया गर्दा प्राप्त अनुभव र ज्ञानलाई तथ्यपरक रूपमा आकर्षक किसिमले साहित्यिक कलेवरमा अभिव्यक्त गर्न सक्नु सफल नियात्राकारको विशेषता हो । आफ्नो कृति ‘‘कैलाश कोरा’’ बारे राजेन्द्रमान डंगोल भन्छन- ‘कैलाश कोरा’ आरोहण मेरो विचरणको लेखाजोखा मात्र नभई हृदयले अनुभूत गरेका सत्य, आँखाले देखेका रङ्ग, कानले सुनेका ध्वनि र पाइलाले महसुस गरेको अभिलेख हो ।’ (‘‘हृदयको गहिराइबाट’’, पृष्ठ- २) । यसमा प्रशस्त मात्रामा हिन्दू, बौद्ध, बोन र जैन धर्म÷परम्परासँग सम्बन्धित मिथकहरुको प्रयोग गरिएको छ । लामो समय अथवा यात्रा अवधिका अधिकांश समय यातायातको साधनमा सावर भएर विताउनु परेकोले हुनसक्छ, तिब्बती बस्तीहरु र त्यहाँका सामाजिक सांस्कृतिक र आर्थिक पक्षको बारेमा ज्यादै कम मात्रामा चर्चा गरिएको छ । यद्यपि वास्तविकता, कल्पना र मिथकहरुको त्रिवेणीको रुपमा नियात्राकारले यस कृतिको अस्तित्व निर्धारण गरेका छन् । यसको साक्ष्यको रुपमा उनले यसमा भौगोलिक ज्ञान, धार्मिक चेत, प्राृकतिक दृश्य, प्रकृति र मानव जीवनबीचमा सामञ्जस्यता, सांस्कृतिक परम्पराको मूल्यबोध र मिथकहरुको अन्तरघुलनले यस कृतिलाई सप्तरङ्गी कलेवर प्रदान गरिएको छ ।
भौगोलिक ज्ञान प्रवाहः
यात्रा गर्नु धर्तीमाथि विचरण गर्नु हो । धरतीको अस्तित्वसँगै यात्राको अस्तित्व रहन्छ । यसैले यस नियात्रा कृतिमा डंगोलले भूगोलको विभिन्न अवस्थिति र छटाको प्रशस्तै वर्णन गरेका छन् । उनी ‘‘उन्मत्त भोटेकोशी:सीमापारको अनुभूति’’ मा भन्छन्— ‘उत्तरबाट बग्ने लिन्देखोला र पश्चिमबाट बग्ने भोटेकोशीको दोभानमा अवस्थित साँघुरो घाँटीको नाम हो- रसुवागढी ।’ (पृष्ठ- ९) । मानसारोवर हिन्दू, बौद्ध र बोन धर्मालम्बीहरु साझा र पवित्र तीर्थसथल हो । कैलाश पर्वतको काखमा अवस्थित मानसरोवरको परिधि ८२ किलोमिटर छ । कैलाश पर्वतको धार्मिक महत्व दर्शाउँदै उनी ‘‘रहस्यहरुमा रुमल्लिँदा’’ मा लेख्छन्- ‘देवत्वको प्रतीक मानिने कैलाश पर्वत, समय र मानव महत्वकांक्षाको सीमाभन्दा परको पहाड हो ।’ (पृष्ठ- ११२) ।
धार्मिक चेतको प्रवाहः
मानिस जाति प्रथमतः प्रकृतिपूजक प्राणी हो । सभ्यता विकासको उषाकालदेखि नै मानिसले प्रकृतिका विभिन्न रुपहरुको पूजा गर्दै आइरहेको छ । दुःख र कष्टका वास्तविक कारण र यसको निदान बारे कुनै वैज्ञानिक कारणहरु थाहा नभएको अवस्थामा यी दुःख र कष्टबाट मुक्ति पाउनको लागि मानिसले कतै अदृश्य शक्ति त कतै दृश्य वस्तुको अस्तित्वलाई नै मान्दै आएका छन् । यिनै कुरालाई नियात्राकार राजेन्द्रमानले पनि यस कृतिमा उल्लेख गरेका छन् । यसैसन्दर्भमा राजेन्द्रमान ‘‘मोक्षको पदचिह्न’’ मा भन्छन्- ‘नेपालमा हिमाल आरोहरण गर्नुअघि आधार शिविरमा आरोही शेर्पाले सफा मौसम र सफल आरोहरणका लागि श्रद्धापूर्वक पूजापाठ गर्छन् ।’’ (पृष्ठ– ९३) । यसैगरी उनी जैन धार्मिक मतअनुसार कैलाश पर्वत र मानसोवरको महिमा ‘‘रहस्यहरुमा रुमलिँदा’’ मा प्रकट गर्छन्-‘कैलाशको महिमा केवल हिन्दू धर्ममा सीमित छैन । जैन धर्मअनुसार, यहीँ २४ तीर्थकरमध्ये प्रथम तीर्थकर ऋषभनाथ (जसलाई आदिनाथ पनि भनिन्छ) ले मोक्ष (निर्वाण) प्राप्त गरेको स्थान हो । जैन धर्मालम्बी यसलाई ‘अष्टपद’ नामले पुकार्छन् अर्थात् आठ चरण पार गरेर मुक्ति प्राप्त हुने पवित्र स्थानका रुपमा’ (पृष्ठ– १११) ।
प्राकृतिक दृश्यका सौन्दर्यचेत:
यस कृतिमा प्रकृति दृश्यहरुको वर्णन काव्यत्मक शैलीमा गरिएको छ । जस्तो कि, ‘सौम्य पहाडहरुको दृश्य । स्वतन्त्र भावनाको जागृति । अनन्त नीलो आकाशको पृष्ठभूमिमा नाचिरहेका छन् सेता बादल । नीलो र सेताको संयोजनले यस्तो सनतुलन बनाएको छ, जसमा शान्ति र आश्चर्यको अनुभूति गराउँछ ।’ — ‘‘विश्व छानोको सौन्दर्य’’, पृष्ठ– ३३ ।
प्रकृति र मानव जीवनबीचको सामञ्जस्ताः
प्रकृतिसँग मानव जीवन र समाजको तादात्म्यताको चर्चाले यस कृतिमा प्राण भर्ने कार्य नियात्राकारले मिहनेतकासाथ गरेका छन् । जस्तो कि ‘‘उन्मत्त भोटेकोशी: सीमापारको अनुभूति’’ शीर्षमा उनी लेख्छन- ‘पहाडका काखमा लुकी बसेका ससाना गाउँ बस्तीहरु लुकेका रत्नजस्तै लाग्छन् । परम्परागत वास्तुकला र शैलीका घरहरुले ग्रामीण जीवनशैलीको झलक दिन्छन् । हरिया रङ्गले चम्किएका पहाड र शान्त ग्रामीण परिवेशले विशेष आनन्दको अनुभूति गराउँछ । पहाडी जीवनको यो लयबाट आफ्नो जीवनको सरलता र सामञ्जस्यको पाठ सिक्दै छु म ।’ (पृष्ठ– १९) ।
सांस्कृतिक परम्पराको मूल्य बोध:
यस कृतिमा नियात्राकारले हिन्दू, बौद्ध र ‘बोन’ धर्म-संस्कृतिको गहिरो मूल्य बोध बगरेका छन् । उनी भन्छन्- ‘बोन धर्म तिब्बतको आदिम परम्परा हो । यसको केन्द्रमा प्रकृति पूजा, तान्त्रिक अभ्यास र चन्द्र-प्रेरित अनुष्ठानहरु छन् ।’ (‘‘अन्तिम पदचाप’’, पृष्ठ– १५०) । यसैगरी उनी ‘‘मोक्षको पदचिह्न’’ मा भन्छन्- ‘‘झातोर’ अर्थात प्राचीन आकाशीय दाहसंस्कार परम्पराको स्थल पनि हो- थारबोचे । यो परम्परामा मृतशरीर चील अथवा गिद्धहरुलाई चढाइन्छ । उनीहरुको धर्ममा यसलाई परोपकार र नश्वरताको प्रतीक मानिन्छ । दाहसंस्कारको यो विधिमा आत्माको मुक्तियात्रा सहज बन्ने विश्वास गरिन्छ ।’ (पृष्ठ– ९२ )। यसैगरी उनी नेपालकै सन्दर्भ उठाउँछन् र भन्छन्- ‘नेपालमा थुप्रै नदीहरु छन्, जहाँ पूजापाठ, मेला र चाडपर्वहरु मनाइनछन् । तर कर्णाली नदीसँग कुनै पनि धार्मिक उत्सव जोडिएको देखिन्न ।’ (‘‘हयग्रवि प्रतिविम्ब’’, पृष्ठ– १४०) । ‘मेरो नजर पुग्छ चराको चुच्चोजस्तै रातोडाँडामा । त्यहाँका लुङ्दरहरुले मलाई बोलाइरहेभैंm लाग्छ । गुम्बा पनि रहेछ त्यो । झट्ट हेर्दा हाम्रै मुस्ताङस्थित छोस्यारको भित्तामा टाँसिएको निझु गुम्बा पनि परबाट हेर्दा लगभग यस्तै लाग्छ ।’ (‘‘किंवदन्तीको गुफा: शान्तिको पहाड’’, पृष्ठ- ६९ ) ।
मिथकमा बाँधिएको धार्मिक मान्यता:
यस कृतिमा नियात्राकारले बोनधर्म परम्पारसँगएकाकार हुँदै आएको मिथकको उल्लेख गरेका छन् । यसै सन्दर्भमा उनी ‘‘हयग्रीव प्रतिबिम्ब’’ मा भन्छन्- ‘कैलाश क्षेत्र बोनहरुको थलो थियो । पहिलो पटक मिलारेपा यस क्षेत्रमा आउँदा देवताहरुले स्वागत गरेका थिए रे । आफ्नो क्षेत्रमा बौद्ध धर्मका अनुयायी महायोगी मिलारेपाको उपस्थितिलाई यहाँका बोन धर्मका सिद्धगुरु नारो बुङ्चुङले सहज रुपमा स्वीकार गरेनन् । किनकि बोन गुरु कैलाश पर्वतलाई आफ्नै धर्मको तान्त्रिक शक्ति बनाउन खोज्थे । मिदलारेपाको धारणा यो पर्वत एउटा धर्मको मात्र नभई सारा मानवताको साझ तीर्थस्थल हो भन्ने थियो । बोन गुरुले मिलारेपालाई त्यहाँबाट हट्न दबाब दिए तर मिलारेपाले अस्वीकार गरे । त्यसपछि उनीहरुबीच आध्यात्मिक शक्तिको टकराव शुरु भयो । ..... महायोगी मिलारेपा आप्mनो तान्त्रिक योगबलदे सूर्यको पहिलो किरणसँगै उडेर बोन गुरु भन्दा पहिले नै कैलाशको टुप्पोमा पुगे । ... बोन गुरु चकित भए । उनले हार स्वीकार गरे । ...। -पृष्ठ– १४६-१४७) ।
यसरी प्रकृति, मानव समाज, धर्म, संस्कृति र मिथकको रोचक वर्णन छ यसमा । कैलाश पर्वत र यसकै काखमा अवस्थित मानसरोवरका बारेमा जनकारी नभएकाहरुको निम्ति निकै ज्ञानवद्र्धक कृति हो यो । मूलतः दश दिन लामो एउटै गन्तब्यको यात्रा दौरानका पहेलीहरुको मूलतत्व रहेको यस कृतिले पाठकलाई फरकफरक र रोमाञ्चक र रहस्यमयी अनुभूति प्रदान गर्नसक्ने सामथ्र्य हासिल गरेका छन् । यसमा जीवन व्यवहारका कठिनतम् भोगाइ, उच्च साहित्यिक चेत र कलात्मक अभिव्यक्ति क्षमतालेयुक्त डङ्गोलले यस कृतिमा प्राकृतिक लय, मानव -चेतना, चिन्तन र व्यवहारलाई सुक्ष्म किसिमले केलाउने प्रयास गरेका छन् । स्थानीय भाषा-शब्दहरुको उचित संयोजन सहित वर्णनात्मक र संवादात्मक अभिव्यक्ति शैलीले पाठकलाई निरन्तर आकर्षित गर्न सक्ने क्षमता प्रदर्शित गरेका छन् ।
निष्कर्षः
‘कैलाश पर्वत’ र ‘मानसरोवर’ को बारेमा सुनेका तर त्यहाँ जाने अवसर प्राप्त गर्न नसक्नेहरुका लागि यो पुस्तकले त्यहाँको बारेमा जानकारी दिन सक्ने सामथ्र्य राखेको छ । अर्कोतर्फ यसले ‘कैलाश पर्वत’ र ‘मानसरोवर’ को यात्रा तय गरेका तीर्थयात्री तथा पर्यटकहरुको लागि पनि मार्गनिर्देशन गर्नसक्ने सामथ्र्य राखेको छ । यसर्थ यो पुस्तक सबै किसिमका पाठकहरुका लागि निसन्देश एक आकर्षक नियात्रा कृतिको रुपमा उपस्थित भएको छ । हरेक साहित्यप्रेमी, सचेत र जिज्ञाशु पाठकहरुको लागि यो सङ्ग्रहणीय कृति हो ।
-केशव पुडासैनी ‘विमल’