२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक कोभिड-१९ नियन्त्रणका विषयमा छलफल गरेर सकिएको छ। बैठक सुरु भएको केही समयमा नै सकिएको स्थायी सदस्य सुवास नेम्वाङले जानकारी दिए।
नेम्वाङका अनुसार बैठक राजनीतिक विषयमा भन्दा कोभिड-१९ नियन्त्रणका विषयमा केन्द्रित थियो। कोरोना नियन्त्रणमा सरकार गम्भीर रुपमा लग्न बैठकले निर्देशन दिएको उनले बताए।
'सरकारले अहिले काम पनि गरिरहेको छ। अझ गम्भीर ढंगले लाग्नुस भनेर बैठक सकिएको छ,' उनले भने।
यस्तै, बैठकमा लुम्बिनी प्रदेशमा देखिएको घटनाक्रमका बारेमा समेत छलफल भएको छ। अविश्वासको प्रस्ताव पेश भएपछि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। त्यसै सिलसिलामा प्रधानमन्त्री ओलीले बैठकमा ब्रिफिङ गरेको नेम्वाङले बताए।
बालुवाटारमै बसेको बैशाख १० गतेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको थियो।
स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरिएको थिएन।
स्थायी किमटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij