२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आन्दोलन छियाछिया हुनबाट रोक्न नसकिए ऐतिहासिक उपलब्धि समाप्त हुने चिन्ता व्यक्त गरेका छन् ।
शनिवार मइ दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेता गौतमले आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता–कार्यकर्ताहरूका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन रहेको बताए ।
‘म बाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्, आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु, तिनलाई सच्याउन लागि परेको पनि छु । भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जानेछन्,’ विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलन विरुद्धका क्रियाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुने नेता गौतमले जनाएका छन् ।
पढ्नुहोस् प्रेस विज्ञप्ति –
आज सन् २०२१ को मइ दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसार भरिका आततायी पूँजीपतिहरूका विरुद्धको लडाइँमा पहिलो सफलता घोषणा गरेको दिन, यस अवसरमा म नेपाल र संसार भरिका अग्रगामी जनतालाई हार्दिक शुभकामना दिन्छु ।
मइ दिवसकै बाटोमा दृढतापूर्वक अगाडि बढेर आज नेपाली श्रमजीवी वर्गले ऐतिहासिक सफलता प्राप्त गरेको छ । तर अहिले श्रमजीवी वर्गका नेताहरूले सत्ता स्वार्थ प्रेरित कार्याकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेका छन् । यो क्रियाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुनेछ । ऐतिहासिक उपलब्धि समाप्त हुनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको समृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्नेछ । तसर्थ आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताहरूका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो । मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्, आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु, तिनलाई सच्याउन लागिपरेको पनि छु । भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जानेछन् ।
वामदेव गौतम
सदस्य, नेकपा (एमाले)
संयोजक, पार्टी एकता राष्ट्रिय अभियान
१ मइ २०२१
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij