२०८२ भाद्र २३ गते सोमवार
फ्रान्सले आफ्ना नागरिकहरुलाई पाकिस्तान छाड्न आग्रह गरेको छ। पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन बढ्दै गएपछि यस्तो आग्रह गरिएको बीबीसीले उल्लेख गरेको छ ।
अवस्था बिग्रिँदै गएपछि फ्रान्सेली दूतावासले प्रदर्शन बढ्दै गएको र पाकिस्तानमा फ्रान्सेलीहरु सुरक्षित हुन नसक्ने भन्दै तत्काल पाकिस्तान छाड्न भनेको हो ।
प्रोफेट मोहम्मदको कार्टन देखाउनु पर्ने वकालत गरेपछि गत महिनादेखि पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको थियो । प्रदर्शनकारीसँगको मुठभेडका क्रममा दुई प्रहरी अधिकारीको यही हप्ता मृत्यु समेत भएको थियो ।
गत अक्टोबरमा फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले वाक स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने बताएका थिए । फ्रान्समा मोहम्मदको कार्टनु देखाउने एक शिक्षकको हत्या गरिएपछि माक्रोनको प्रतिक्रिया आएको थियो ।
त्यसपछि मुस्लिम बाहुल्य राष्ट्रहरुले फ्रान्सेली राष्ट्रपतिको भनाइको विरोध गरेका थिए । पाकिस्तानमा फ्रान्सेली सामानहरु बहिस्कार गर्ने अभियान नै सुरु भएको थियो ।
फ्रान्सको विरोध भइरहँदा पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नुपर्ने माग गरेका तारिक ए लबइक (टीएलपी) पाकिस्तानका नेता सद हुसैन रिजवीलाई प्रहरीले पक्राउ गरेपछि प्रदर्शन उग्र बनेको हो ।
टीएलपीलाई प्रतिबन्ध लगाउने उद्देश्यले रिजवीलाई पक्राउ गरिएपछि हजारौं समर्थक आन्दोलित भएका थिए । प्रहरीसँगको झडपका क्रममा धेरैजना घाइते भए । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाउनुका साथै अश्रु ग्यास र पानीको फोहोरा समेत प्रहार गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij