२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । भारतको विद्युत् मन्त्रालयले बिजुलीको भाउ अकाशिएपछि नेपाललाई उसको ऊर्जा एक्सचेञ्ज मार्केटबाट बिजुली खरिद गर्न पाउने अनुमति दिएको छ । नेपालले सोही इनर्जी एक्सचेञ्ज बजारमा आफ्नो बिजुली बेच्न गरेको प्रस्तावलाई भने भारतले स्वीकृति दिएको छैन । भारतले आफु अनुकूलको ब्यबस्था गरेर नेपाल माथि भार थोपर्ने मेलोमेसो मिलाएको छ।
उताको इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) मा एक युनिट बिजुली भाउ भारु ७.१० (११ रुपैयाँ ३६ पैसा) रहेको बेला भारतीय विद्युत् मन्त्रालयले हिजो (बुधबार) नेपालले एक्सचेञ्ज बजारबाट बिजुली खरिद गर्न पाउने अनुमति दिएको हो । यो मूल्यमा नियामक चार्ज (४५ पैसा) जोड्दा ११ रुपैयाँ ८१ पैसा पुग्छ ।
प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको बिजुली बिक्रीका लागि भारतमा पठाएको प्रस्ताव स्वीकृत नगरेपछि उसको महँगो बिजुली मात्र नेपाललाई भिडाउने रणनीति देखिन्छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो ।
भारतले यस्तो बेला उसको एक्सचेञ्ज बजारमा अनुमति दिएको छ, अबको डेढ महिनापछि नेपाल र भारतबीच भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को अवधि समाप्त हुँदैछ । यसको नवीकरण नभएमा नेपालले स्वतः एक्सचेञ्ज बजारबाट महँगोमा बिजुली ल्याउन बाध्य हुनेछ । गत चैतमा प्राधिकरणले भारतबाट ७८० मेगावाटसम्म बिजुली आयात गरेको थियो ।
भारतको एनभीभीएन र नेपालको विद्युत् प्राधिकरणबीच सन् २०१६ देखि ३५० मेगावाट बिजुलीको पीपीए भएको थियो । उक्त पीपीए हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ । अपवादमा बाहेक हरेकपटक नवीकरण हुँदा भारतले बिजुलीको भाउ बढाउँदै आएको छ । हाल यस्तो दर (ढल्केबर-मुजफ्फपुरको हकमा) प्रतियुनिट ४.१८ भारु (६ रुपैयाँ ६८ पैसा) छ ।
‘भारतले आफ्नो एक्सचेञ्ज बजार एकतर्फी रुपमा मात्र खुला गरेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘दुईतर्फी खुला हुन त हाम्रो प्रस्ताव पनि स्वीकृत हुनुपर्थ्यो, यी सबै नेपाललाई महँगोमा बिजुली भिडाउने भारतको रणनीति हो ।’एक्सचेञ्ज बजारमा बिजुलीको भाउ महँगो भएका बेला भारतले पीपीए नवीकरण गर्दा त्यसलाई पनि महँगो पार्ने निश्चित छ । ‘एक्सचेञ्जमा सस्तो छउञ्जेल (प्रतियुनि एक, दुई भारु) उसले खोलिदिएन,’ स्रोतले भन्यो, ‘भोलि भारतीय एक्सचेञ्जमा सस्तो हुँदा नेपालले पनि सस्तो पाउनेछ, त्यो अर्कै कुरा हो ।’
भारतीय एक्सचेञ्जमा प्रतियुनिट भाउ ३ रुपैयाँ (भारु) को हाराहारीमा आयो भने नेपालसँगको पीपीए नवीकरण हुने सम्भावना प्रबल छ । उक्त भाउ अहिलेको जस्तै प्रतियुनिट ७.१० (भारु) पीपीए नवीकरण गर्ने बेला (आगामी जून)मा कायम रहेमा नवीकरण नहुने खतरा बढेको छ । ‘हरेक पटक पीपीए नवीकरण हुँदा भारतले भाउ बढाउने गरेको छ,’ स्रोतको भनाइ छ, ‘नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएपछि नेपालका ऊर्जा मन्त्रीले गरेको भारत भ्रमणका बेला ४.३३ (भारु) बाट ४.१८ (भारु) भएको थियो, अपवादका रुपमा ।’
प्राधिकरणले अहिलेसम्म एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत खरिद गर्दै आएको छ । भारतले एक्सचेञ्ज बजारमा नेपाललाई अनुमति दिएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लिखित वक्तव्यमार्फत भनेका थिए, ‘अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिनेछ ।’
प्राधिकरण वा सरकारले बूढीगण्डकी, तमोरजस्ता पूर्ण जलाशययुक्त आयोजना निर्माण नगरुञ्जेल प्रत्येक हिउँदयाममा भारतबाट यसरी नै आयात गरिरहनुपर्ने छ ।
प्राधिकरणको तथ्याङअनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युतगृहबाट औसतमा दुई सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युतगृहहरुबाट २०० मेगावाट विद्युत उत्पादन भएको छ भने भारतबाट ७१० मेगावाट आयात गरिएको छ । प्रणालीमा विद्युतको उच्चतम माग १४६३ मेगावाट, औसत माग ११५० मेगावाट पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij