Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पर्यटकीय ‘हब’ बन्दै ब्लु हिल, २५ करोडको गुरुयोजनासहित धमाधम पूर्वाधार निर्माण

पर्यटकीय ‘हब’ बन्दै ब्लु हिल, २५ करोडको गुरुयोजनासहित धमाधम पूर्वाधार निर्माण


  • 862
    Shares

    • images
    पर्यटकीय ‘हब’ बन्दै ब्लु हिल, २५ करोडको गुरुयोजनासहित धमाधम पूर्वाधार निर्माण

    काठमाडौं । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको वडा नं. ९ स्थित ‘ब्लु हिल’ मा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ। आकर्षक हिमशृङ्खला र बागलुङ बजारको मनोरम दृश्य देखिने यस स्थानलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले गुरुयोजनासहित काम अगाडि बढाएको हो। आगामी असार मसान्तसम्म थप २ करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्य राखिएको छ।

    समुद्र सतहदेखि करिब २ हजार २०० मिटर उचाइमा रहेको 'डोय' भन्ने डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरी धार्मिक तथा प्राकृतिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागेको हो। कुल २५ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सुरु गरिएको यस आयोजनामा हालसम्म जग्गा व्यवस्थापन, शौचालय र सत्तल निर्माणमा ७० लाख खर्च भइसकेको छ। अहिले दोस्रो चरण अन्तर्गत २० फिट अग्लो शिवको मूर्ति स्थापनाका लागि दुई तलाको पक्की भवन निर्माण भइरहेको छ।

    ब्लु हिललाई नगरपालिकाकै उत्कृष्ट गन्तव्य बनाउन आन्तरिक बजेटबाट ठूलो लगानी भइरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताएका छन्। यस वर्ष निर्माणको जिम्मा 'क्वालिसट रिन्युयबल इनर्जी' नामक कम्पनीले लिएको छ। वडाअध्यक्ष राजु थापाका अनुसार पहाडमा शिवको मूर्ति राखेर धार्मिक पर्यटकसँगै प्रकृतिप्रेमीहरूलाई आकर्षित गर्ने योजना छ। यहाँ पुग्ने सडक सुधारलाई पनि प्राथमिकतामा राखिएको छ।

    डिपिआर अनुसार यस स्थानमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्यावलोकन स्तम्भ (भ्यू-टावर), जिम हल, मन्दिर र व्यवस्थित पार्किङलगायतका संरचनाहरू निर्माण गरिनेछन्। उचाइमा रहेका कारण पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पूर्वाधार निर्माण सम्पन्न भएपछि यसले बागलुङको पर्यटन र स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १३:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij