२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक कुलपूजाको विशेष तयारी भइरहेको छ। आगामी फागुन २३ गते शुक्रबार शुक्लअष्टमीको साइतमा सम्पन्न गरिने उक्त कुलपूजाको सम्पुर्ण तयारी भइरहेको हो।
“शक्तिको प्रतीक पितृ र कूलदेवता, वंश एकता आजको आवश्यकता” भन्ने मूल नारासहित त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानी मुर्चोक धादिङमा आयोजना हुने यो १४० औं बगाले थापा राष्ट्रिय कुलपूजालाई ऐतिहासिक एवं सांस्कृतिक रूपमा विशेष महत्त्वका साथ हेरिएको छ ।
बगाले थापाका आदि कुलपुरुष सन्त महाराज कालु बगाले थापाले वि.सं. १२१५ मा डोटीमा कुलपूजा सुरु गरेका थिए। त्यस बेलादेखि हरेक तीन–तीन वर्षको फरक पारेर फागुन महिनाको अन्तिम शुभ लगनमा कुलपूजा गरिँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यसवर्ष १४० औं कुलपूजा भव्य रूपमा सम्पन्न गर्ने आयोजकले बताएको छ । यस ऐतिहासिक परम्परालाई सम्मान गर्दै मुलपानी मुर्चोकमा सुरेश थापाको संयोजकत्वमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिने भएको छ। बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसनको संरक्षण कुलपूजा हुने भएको हो ।
यो विशेष पूजामा बगाले थापाहरू विभिन्न जिल्लाबाट ध्वजा, पताका, बली दिने बोका, र बाजागाजासहित सहभागी हुने परम्परा छ। कुलपूजाको दिन, बगाले थापाहरूको निसान मन्दिरबाट करिब २ किलोमिटर टाढा रहेको कुलायन थानसम्म हेलिकोप्टरबाट पुष्पवृष्टि गरिनेछ। साथै, सूर्य–चन्द्र अंकित ४९ ओटा तारासहितको बगाले थापाहरूको निसान झन्डा, शंख, घण्टा, चमर, डमरु, दीयो, कलश, राष्ट्रिय झन्डा, र १०० भन्दा बढी परम्परागत खुकुरी–खोंडासहित भव्य झाँकी प्रदर्शन गरिने छ। निसान भगवतीको बक्सालाई डोलीमा राखेर, बगाले थापाहरूको सबैभन्दा जेठो भाइलाई मूल पुजारी बनाई बाजागाजासहित कुलायन थानसम्म पु¥याइने छ।
कुलायन थानमा दिनभर होम–हवन, पूजा–अर्चना, र बलिदान गर्ने परम्परा रहेको छ। यस क्रममा करिब १,००० भन्दा बढी बोका र भेडा बलि दिइने छ। बगाले थापाका कुल मष्टदेवताहरू— समालिंग, सिरुभार, र बिन्दबासिनीका तान्त्रिक हवनसहित कुलदैवी धामीहरूलाई चढाइने छ।
यस ऐतिहासिक र भव्य पूजाको तयारीका लागि मुर्चोक वरपर तथा विभिन्न जिल्लाका बगाले थापा वंशजहरू जुटिरहेका छन्। ६०० वर्षदेखि निरन्तरता पाइरहेको यो कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी भइरहेको छ।
इतिहास अनुसार, बगाले थापाहरू नेपाल एकीकरणअघि विभिन्न भूखण्डका राजा थिए। राष्ट्रिय एकता र अखण्डताका लागि बगाले थापाका पुर्खाहरूले महत्वपूर्ण योगदान दिएका थिए। तर, दरबारभित्रको कलह, षड्यन्त्र, र बाह्य शक्तिको प्रभावका कारण उनीहरूलाई झुट्टा मुद्दा लगाइयो। वि.सं. १८९६ मा मुख्तियार जनरल भीमसेन थापाको अवसान र वि.सं. १९०२ मा नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको हत्या यसै षड्यन्त्रको परिणाम थियो। यस घटनापछि बगाले थापाहरू व्यापक दमनमा परे, कतिपयले आफ्नो गोत्र र थर परिवर्तन गरी ज्यान जोगाउनु परेको इतिहास छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij