२०८२ माघ १८ गते आइतवार
काठमाडौं । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद भवनमै सञ्चालन हुने भएको छ ।
निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए। आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए।
उनका अनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए।
उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए। अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए।
यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij