Logo

२०८२ माघ १८ गते आइतवार

२०८२ माघ १८ गते आइतवार

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 827
    Shares

    आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा

    नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ । निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराउनु भयो । उहाँले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताउनु भयो । नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गर्नुभयो । नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताउनु भयो । 

    २. बालेन्द्र साहको निर्वाचन प्रचार अभियानमा सहभागी सञ्चारकर्मी सिटौलाको निधन

    नेपाल चलचित्र पत्रकार संघका निःवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी दिनेश सिटौलाको निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचार अभियानका क्रममा अछामको मंगलसेन पुगेका उनी शुक्रवार बिहान अचानक बेहोस भएका थिए । उनलाई तत्काल अछाम जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो । काठमाडौंमा टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर उनको उपचारका क्रममा आईतवार मध्यान्ह सवा १२ बजे निधन भएको अस्पतालले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।  सिटौला नुवाकोट घर भई काठमाडौंमा बस्दै आएका थिए । 

    ३. नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको एघारौं संस्करण माघ २२ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने

    निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ को एघारौं संस्करण यस पटक स्वदेशी कम्पनीहरुको बढी सहभागितासहित आयोजना हुँदैछ । मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईकाअनुसार एक्स्पो माघ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको हो । मिडिया स्पेश सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा हुन लागेको यस संस्करणको मुख्य विशेषता भनेको स्वदेशी तथा विदेशी कम्पनीहरुको सहभागितामा आएको उल्टो अनुपात हो । विगतका वर्षहरुमा विदेशी कम्पनीहरु बढी रहने गरेकोमा यस पटक नेपाली कम्पनीहरुको सहभागिता ६० प्रतिशत पुगेको छ भने विदेशीहरु ४० प्रतिशत मात्र रहेको उहाँले बताउनु भयो ।  

    ४. नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छः नेता भट्टराई

    नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिनुभयो । उहाँले ठूला पार्टीहरू अफ्ठ्यारोमा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्न खोजिएको बताउनु भयो । तर यो सत्य नभएको पनि उहाँको भनाइ छ । उहाँकाअनुसार आजको ग्लोबल परिवेशमा अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको छ । जसको प्रभाव नेपालमा पर्दै गएको र अझ गम्भीर रूपमा पर्ने सम्भावना रहेको छ । 

    ५. घोषणापत्र कार्यान्वयन गर्न कुनै एक दललाई स्पष्ट बहुमत दिनुस्ः नेता खनाल

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा घोषणापत्र कार्यान्वयन गर्न मतदाताले कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले सरकारमा रहेको दल वा गठबन्धनले मात्र घोषणापत्रका प्रतिवद्धता पूरा गर्नसक्ने बताउनुभएको हो । खनालले मिश्रित म्याण्डेट आएको अवस्थामा बहुदलीय गठबन्धन सरकार बन्दा घोषणापत्र कार्यान्वयन हुन नसक्ने उल्लेख गर्नुभयो । नेता खनालले नेपालको राजनीतिक प्रणालीमा स्पष्ट बहुमत प्राप्त सरकार बने मात्र घोषणापत्रका प्रतिवद्धताहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनसक्ने धारणा राख्नुभयो । उहाँले नेपालको संसदीय अभ्यास कार्यपालिकामुखी भएको पनि बताउनु भयो । 

    ६. एक महिनाको भक्ति यात्रा सम्पन्न (फोटो फिचर)

    एक महिने स्वस्थानी व्रतकथा आजबाट सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको स्वास्थानी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिनमा विधिपूर्वक सम्पन्न भएको हो । एक महिनाको तपस्या, संयम र भक्ति आज समापन भएको हो । घरघरमा सुनाइएको यो पवित्र कथाले श्रद्धालुहरूको मनमा धैर्य, विश्वास र शान्तिको सन्देश छोडेको छ । शिव–पार्वतीको लीला, नव रानीको कथा र स्वस्थानी माताको महिमा आज अन्तिम अध्यायसम्म पुगेको छ । व्रत बस्नेहरूको सुख–समृद्धि, सुस्वास्थ्य र वैवाहिक जीवन मधुर बनोस् भनी स्वस्थानी मातासँग प्रार्थना गरेका छन् । पर्वले हामीलाई संयम, भक्ति र कर्मको महत्व सिकाएको छ । एक महिनाको यो धार्मिक यात्रालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएको छ । 

    ७. आसन्न निार्वचन प्रायोजनको उद्देश्य के हो ?ः देव गुरुङ

    नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले आगामी निर्वाचनको प्रायोजनमा प्रश्न उठाउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यो निर्वाचन दलहरूलाई पुनःस्थापित गर्नका लागि हो कि अरू कुनै शक्तिलाई स्थापित गर्न वा राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने खेलका लागि हो भन्ने आशंका व्यक्त गर्नुभएको हो । भदौ २३–२४ गतेका घटनापछि संसद विघटन गरी घोषणा गरिएको आगामी निर्वाचनको प्रायोजन र वास्तविक उद्देश्यमा प्रश्न उठाउनु भयो । उहाँले यो निर्वाचन दलहरूको पुनरुत्थानका लागि नभएको आशंका उब्जिएको बताउनु भयो । आगामी निर्वाचन अन्य शक्तिलाई स्थापित गर्न वा नाममात्रका दल खडा गरेर मुलुकको स्वाधीनतालाई कमजोर पार्ने खेल हुनसक्ने आशंका व्यक्त गर्नुभयो । 

    ८. अमेरिकी न्याय विभागद्वारा एपस्टिन फाइलका ३० लाख पृष्ठहरू सार्वजनिक

    अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनका ३० लाख भन्दा बढी पृष्ठका नयाँ फाइलहरू सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अमेरिकी कंग्रेसले सबै सम्बन्धित फाइलहरू सार्वजनिक गर्न तोकेको समयसीमा भन्दा एक महिना ढिलो हो । सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानका क्रममा डोनाल्ड ट्रम्पले निर्वाचित भएमा एपस्टिन प्रकरणसँग सम्बन्धित ग्राहक सूची लगायतका कागजातहरू सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । १८ नोभेम्बर २०२५ मा अमेरिकी कंग्रेसले भारी बहुमतका साथ एपस्टिन प्रकरणसँग सम्बन्धित फाइलहरू १९ डिसेम्बरसम्ममा सार्वजनिक गर्नुपर्ने विधेयक पारित गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै उक्त विधेयकमा हस्ताक्षर गर्नुभएको थियो । १९ डिसेम्बरदेखि विभागले कागजातहरू चरणवद्ध रूपमा सार्वजनिक गर्न थालेको थियो । 

    ९.अमेरिकी सिनेटद्वारा बन्दको समयसीमाभन्दा केही घण्टा अगाडि कोष प्याकेज स्वीकृत, अझै पनि कोष अभाव हुने सम्भावना

    अमेरिकी सिनेटले सरकारी कोषको म्याद सकिनु केही घण्टा अगाडि एक कोष प्याकेज स्वीकृत गरेको छ । तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) सोमबारसम्म बिदामा रहेकाले अझै पनि छोटो समयका लागि कोषको अभाव हुने सम्भावना छ । माथिल्लो सदनले ७१–२९ मतले यो प्रश्ताव पारित ग¥यो । जसले दुई दलीय समर्थनलाई सङ्केत गर्दछ । यो स्वीकृति अमेरिकी सिनेटका डेमोक्र्याटहरूले रिपब्लिकन र ह्वाइट हाउससँग बाँकी आर्थिक वर्षका लागि सरकारको केही हिस्सालाई कोष उपलब्ध गराउन पाँचवटा खर्च विधेयकका साथै गृह सुरक्षा विभागलाई कोष उपलब्ध गराउन एक अल्पकालीन उपाय पारित गर्ने सम्झौता गरेको एक दिन पछि आएको हो ।

    १०. ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसले इरानसँग सम्झौता गर्नका लागि गोप्य रूपमा समयसीमा (डेडलाइन) तोकेको सङ्केत गर्नुभएको छ । उहाँले सार्वजनिक रूपमा भने सो समयबारे खुलाउन अस्वीकार गर्नुभयो । ह्वाइट हाउसमा पत्रकारहरूले इरानलाई कुनै समयसीमा दिइएको छ कि भनेर सोधेको प्रश्नमा ट्रम्पले यो कुरा उनीहरूलाई मात्र पक्का थाहा भन्ने जवाफ दिनुभयो । मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति कम गर्ने सम्बन्धमा पेन्टागनसँग कुनै समयतालिका छ कि भन्ने प्रश्नमा ट्रम्पले आफूहरुले हेर्ने बताउनु भयो । ट्रम्पको यो पछिल्लो टिप्पणी वाशिङ्गटनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला आएको हो । जहाँ डिसेम्बर २०२५ को अन्त्यदेखि देशव्यापी अशान्ति फैलिएको छ । 

    ११. धम्की र वार्ता सँगै हुन सक्दैनः इरानी विदेशमन्त्री

    इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इरान अमेरिकासँग वार्ता गर्न तयार रहेको तर धम्कीपूर्ण वातावरणमा वार्ता शुरु नहुने बताउनुभएको छ । इस्तानबुलमा टर्कीका विदेशमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले इरान युद्ध र कूटनीति दुवैका लागि तयार रहेको स्पष्ट पार्नुभयो । इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इस्तानबुलमा बोल्दै इरान अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताउनुभएको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा आराघचीले संयुक्त राज्य अमेरिकाले कुनै सद्भाव नदेखाएको र यो कहिल्यै विश्वासयोग्य नरहेको बताउनु भयो । इरान सबै कूटनीतिक प्रक्रियाका लागि तयार रहेको उहाँको भनाइ छ । इरानले आणविक हतियार कहिल्यै नखोजेको दोहो¥याउँदै उनले रक्षा क्षमतालाई कायम राख्ने र विस्तार गर्ने तर त्यसमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । 

    १२. पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी हमलाप्रति घानाका विदेशमन्त्रीको चेतावनी

    घानाका विदेशमन्त्री स्यामुएल ओकुजेटो अब्लाक्वाले पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । क्षेत्रीय सहयोग र सुरक्षा सम्बन्धी दुई दिने उच्चस्तरीय परामर्श सम्मेलनको उद्घाटनका क्रममा अब्लाक्वाले यस क्षेत्रमा आतंकवादी हमलाका कारण दैनिक औसत ४४ जनाले ज्यान गुमाउने गरेको चेतावनी दिनुभयो । मन्त्रीकाअनुसार विगत १५ वर्षमा आतंकवादी हमलामा १ हजार २ सय ६६ प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ६० प्रतिशतले बढेको छ । आतंकवादसँगै गिनीको खाडीमा हुने समुन्द्री डकैती र खुल्ला सिमानाबाट हुने मानव तस्करीले सामुदायिक लचिलोपनलाई कमजोर बनाउँदै लगेको उहाँले बताउनु भयो । 

    १३. पाकिस्तानको बलुचिस्तानमा भीषण आक्रमणः १० सुरक्षाकर्मी र ३७ आतंककारीको मृत्यु

    पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी समूहको ठूलो आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिएका छन् । सुरक्षा बलले विगत ४८ घण्टामा उक्त क्षेत्रमा कुल ८८ आतंककारी मारिएको जानकारी दिएको छ । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मी’ले शनिवार बिहानै क्वेटा, नोस्की र ग्वादर जिल्लासहित एक दर्जनभन्दा बढी स्थानहरूमा एकैसाथ आक्रमण शुरु गरेको थियो । स्रोतकाअनुसार यी आक्रमणहरू विशेषगरी सुरक्षा निकायका प्रतिष्ठान र सरकारी लक्ष्यहरूमा केन्द्रित थिए । पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कोप्र्स र बलुचिस्तान प्रहरीले तत्काल जवाफी कारबाही गर्दै भीषण गोलाबारीपछि लडाकूहरूको योजना असफल तुल्याएको स्रोतले उल्लेख गरेको छ । यस हिंसात्मक भिडन्तमा कैयौँ सुरक्षाकर्मी घाइते भएका छन् । 

    १४. आयोगले सोध्यो आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधेको छ । आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो । उहाँले स्पष्टिकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिनुभयो । बाँकीको जवाफ आउने क्रममा रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।

    १५. निजी क्षेत्रलाई रास्वपाको जवाफः ‘वामपन्थी र लोकतान्त्रिक दलको आर्थिक एजेण्डा एउटै हुँदैनन्’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सबै दल मिलेर एउटै आर्थिक दृष्टिकोण ल्याउन नसकिने बताउनुभएको छ । आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उहाँले वामपन्थी र लोकतान्त्रिक दलहरूको एउटै आर्थिक एजेण्डा नहुने बताउनु भएको हो । निजी क्षेत्रले लामो समयदेखि राजनितिक दलहरुलाई आर्थिक एजेण्डामा समान धाराणा बनाउन आग्रह गर्दै आएका छन् । तर रास्वपाका नेता खनालले विचार र वाद नै राजनीतिक दलहरूको मूल स्रोत भएकाले वामपन्थी र लोकतान्त्रिक दलहरूबीच एउटै आर्थिक एजेण्डामा सहमति हुन गाह्रो रहेको बताउनु भयो । उहाँकाअनुसार वामपन्थी दलहरूले आफ्नै दृष्टिकोणलाई न्याय हुनेगरी कार्यक्रम ल्याउनुपर्छ भने लोकतान्त्रिक दलहरूले पनि आफ्नो विचारअनुसार स्पष्ट एजेण्डा अघि सार्नुपर्छ ।

    १६. प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियोः निर्वाचन आयोग

    निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ । आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई शुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ शुरु गरिएको हो । प्रत्यक्षतर्फ अब करिव दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उहाँको भनाई छ ।

    १७. मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छः महामन्त्री पौडेल

    नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिष्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताउनुभएको छ । आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताउनु भयो । उहाँले नेपालको राजनीतिक दल र मतदाता दुबैले घोषणापत्रको आधारमा उम्मेद्वार छनौट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उहाँको भनाई छ । महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उहाँले नीति–केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताउनु भयो । 

    १८. काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा

    काठमाडौं महानगरपालिकाले आईतवारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ । आईतवार एक कार्यक्रमका बीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण तथा मेडिकल हिस्ट्री संकलन गरी आवश्यक आधारभुत स्वास्थ्य सेवा प्रदान गरिने कार्यवाहक प्रमुख डंगोलले बताउनु भयो । उहाँकाअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गर्ने तथा जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ । यस कार्यक्रमले अगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने डंगोलको विश्वास छ ।

    १९. प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति

    नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवन  काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले सहमति प्रदान गरेको छ । व्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५  को कुल ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्नेगरी गृहमन्त्रालयले सहमति प्रदान गरेको हो । त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगर सहमत भएको छ । आईतवार गृहमन्त्रालयमा भएको दुईपक्षबीचको छलफलबीच सो सहमति अनुसार निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिनुभयो । 

    २०. फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधिन भवनमा बस्ने

    आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताउनु भयो । उहाँकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताउनु भयो । 

    २१. कार्यकारी राष्ट्रपति हुनुपर्ने मुख्य मागसहित विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनावी घोषणा पत्र सार्वजनिक

    नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थामा जोड दिएर आफ्नो पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताउनुभएको हो । घोषणा पत्रमा प्रतिनिधि सभा पूर्ण सभानुपातिक हुनुपर्ने र सरकारमा विज्ञहरुको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ । महासचिव विप्लवले प्रतिनिधि सभामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनेगरी पूर्णसमानुपातिक हुनुपर्ने प्रश्ताव गरिएको बताउनु भयो । उहाँले सरकारमा विज्ञहरुको उपस्थितिलाई बलियो बनाउने कुरालाई घोषणा पत्रमा प्राथमिकता दिइएको बताउनु भयो ।  

    २२. रास्वपामा विचार होइन, सत्तामा पुग्ने हतारो मात्रै छः विप्लव

    नेकपा (माओवादी)मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरुले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाउनु भयो । महासचिव विप्लवले नयाँ पार्टीहरुले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको जिकिर समेत गर्नुभयो । उहाँले विचार केही होइन भन्नेहरुले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखेको समेत बताउनु भयो । 

    २३. आर्थिक एजेण्डा उठाएर कार्यान्वयन गर्न नसके राजनीतिक दलहरूको सान्दर्भिकता हराएर जान्छः एमाले सचिव भट्टराई

    नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपालको समृद्धिका लागि अब राजनीतिकभन्दा आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । अर्थतन्त्र बलियो भएन भने जति राम्रो राजनीतिक व्यवस्था र संविधान ल्याएपनि त्यसमाथि प्रश्न उठ्ने बताउँदै अहिले पनि अर्थतन्त्र कमजोर बन्दा प्रश्न उठेको बताउनु भयो । आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै भट्टराईले अब आर्थिक पक्षलाई कम आँक्न नहुने बताउनु भयो । उहाँकाअनुसार दलहरुले लामो समय राजनीतिक परिवर्तनका लागि समय खर्च गरिसकेकाकाले अब राजनीतिक नभई आर्थिक एजेण्डालाई प्रमुख प्राथमिकतामा पर्नुपर्छ ।

    २४. दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्ः ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेण्डा स्थापित हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताउनु भयो । कुनैपनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उहाँले बताउनु भयो । नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रममा ढकालले आर्थिक मुद्दाहरु छाडेर राजनीतिक दलका नेताहरु एउटाले अर्काे दललाई नराम्रो देखाउने प्रचलन बढेको बताउनु भयो । 

    २५. निजी क्षेत्रलाई गाली गर्न बन्द गर्नुपर्छः महामन्त्री पौडेल

    नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गर्न बन्द गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानूनको दायरामा बसेर नाफा कमाउनेलाई खराब दृष्टिले हेर्न नहुने बताउनु भयो । दलहरुले ठूलाठूला घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पूरा नहुँने भएकाले काँग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिनुभयो । महामन्त्री पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरुका घोषणा पत्रमा हुनुपर्ने बताउनु भयो । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ । अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रस्टाचारको अन्त्य गर्न सकिने उहाँको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

    २६. नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउनेगरी घोषणा पत्र ल्याउनेछः नेता गुरुङ

    नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने उद्घोष गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेण्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर अब उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याइने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताउनु भयो ।

    २७. विद्युत खपतको एजेण्डा अब दलहरुले लिनुपर्छः इप्पान अध्यक्ष कार्की

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्दै गएपनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताउनु भयो । दलहरुले उत्पादित विद्युत निर्यात, खपत तथा व्यपारमा भएका नीतिलाई सुधार गर्ने प्रतिवद्धता गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ । अध्यक्ष कार्कीले भन्नुभयो–‘विद्युत उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत नेपाल विद्युत किनिदेने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुप¥यो । निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुप¥र्या । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुप¥यो ।’

    २८. भोलि र पर्सी कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?

    फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार (भोलि र पर्सी) मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश बाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्ने छ । अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताए ।

    २९. प्लानिङ ब्वाइज र आर्मीको तेस्रो जित

    गोलकिपर योगेश धिमालको उत्कृष्ट प्रदर्शनमा प्लानिङ ब्वाइज युनाइटेडले आईतवार काक्रे बिहारलाई हराउँदै राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङले आईतवार काक्रे बिहारमाथि ३–० को नतिजा निकाल्दै जारी लिगमा तेस्रो जित आत्मसात गरेको हो । प्लानिङको जितमा गोलकिपर योगेशले उत्कृष्ट प्रदर्शन गरे । प्लानिङलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे । लिगमा प्लानिङको यो तेस्रो जित हो । यो नतिजासँगै पाँच खेलबाट १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो । समान खेल खेलेको काँक्रे बिहारले सबै खेलमा नतिजा सुम्पिएको छ । प्लानिङ ब्वाइजले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको हो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - २०:२७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij