Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सकेसम्म अझै हलो अड्काएर ओलीलाई पड्काउने प्रचण्डको योजना, को-को बन्दैछन् तगारो ?

सकेसम्म अझै हलो अड्काएर ओलीलाई पड्काउने प्रचण्डको योजना, को-को बन्दैछन् तगारो ?


  • 8.4K
    Shares

    सकेसम्म अझै हलो अड्काएर ओलीलाई पड्काउने प्रचण्डको योजना, को-को बन्दैछन् तगारो ?

    काठमाडौँ । फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयपछि औपचारिक रुपमा छुट्टिएका नेकपा एमाले र माओवादी केन्द्र सत्ता सहकार्यमा भने अहिलेसम्म पनि सँगै रहँदै आएका छन् । त्यसो त पुस ५ गते प्रतिनिधिसभाको विघटन भएसँगै माओवादीले आफ्नो पक्षका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

    अदालतको निर्णयले दुई पार्टी मिलेर बनेको नेकपा पुरानै अवस्थामा फर्किएसँगै संसदमा प्रतिपक्षी दलको झैं भूमिका निर्वाह गर्दै आएको छ । एमाले र माओवादी पुनःस्थापित भएपछि संसदमा एमाले सबैभन्दा ठूलो दल बनेको छ भने माओवादी तेस्रो ठूलो दल बनेको छ । माओवादीले सरकारबाट बाहिरिएर प्रतिपक्षी दलको झै भूमिका निर्वाह गर्दै आए पनि ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

    समर्थन फिर्ता नलिने

    माओवादी केन्द्रले वैकल्पिक बाटो पक्का नहोउञ्जेलसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने आन्तरिक तयारी गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै प्रधानमन्त्री ओली पुनः संसद विघटनको तयारीमा जाने आंकलन रहेकाले अहिलेका लागि समर्थन फिर्ता नलिने माओवादी केन्द्रका एकजना स्थायी कमिटी सदस्यले बताए । माओवादीले उपयुक्त विकल्प नहुँदासम्म समर्थन फिर्ता नलिने भएको हो । 

    विकल्पपछि फिर्ता

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएको पनि एक महिना पूरा भएको छ । माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर वैकल्पिक तयारी गरिरहेको छ । तर, छलफलले अहिलेसम्म तात्त्विक फरक भने पार्न सकेको छैन । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि नयाँ सरकार गठनका निम्ति अग्रसरता लिने औपचारिक निर्णय नै गरिसकेको छ । काँग्रेसको निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपा नेताहरूसँग अनौपचारिक संवाद गर्दै आएका छन् । 

    प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि प्रस्ताव समेत गरेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादीले जनता समाजवादी पार्टीसँग पनि छलफल गरेको छ । माओवादीले जसपालाई ठोस निर्णय लिन अनुरोध गरिसकेको छ ।

    अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङ बताउँछन् । 

    ओली, देउवा र महन्थ रोक्ने

    माओवादी केन्द्रले वैकल्पिक तयारी गरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ । यद्यपि यस विषयमा नेताहरु खुलेर भने बोल्ने गरेका छैनन् । 

    अहिले नै समर्थन फिर्ता लिएमा ओलीले काँग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर चुनावमा जाने माओवादीको बुझाइ रहेको माओवादी केन्द्रका एक स्थायी कमिटीका सदस्य बताउँछन् । ‘प्रपर रुपमा विकल्प ननिस्किएको अवस्थासम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन’, ती नेताले भने, ‘अहिले हाम्रा नेताहरुले त्यसैको तयारी गरिरहनुभएको छ ।’

    अहिले नै चुनावमा जाने माओवादीको कुनै मनस्थिति छैन । अहिले चुनावमा जाँदा आफू कमजोर हुने र काँग्रेस बलियो शक्तिका रुपमा उदाउने सम्भावना रहेकाले सकभर चुनाव हुने कुरालाई रोक्ने माओवादी पक्षको तयारी छ । त्यसैले माओवादी काँग्रेस र जनता समाजवादीसँग ओलीको गठबन्धन रोक्न हरसम्भव तयारीमा रहेको स्रोतको भनाइ छ ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको तयारीमा रहेको भन्दै माओवादीले वैकल्पिक तयारी गरेर मात्र समर्थन फिर्ता वा अविश्वासको प्रस्ताव पेस गर्ने बताएको हो ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १३:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij