२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । जनता समाजवादी पार्टी अहिलेको राजनीतिक समीकरणमा कुनै कित्तातिर पनि नढल्किने अन्तिम तयारीमा पुगेको छ ।
आइतबार पदाधिकारीको बैठकका क्रममा यस्तो प्रस्ताव परेको छ। यस प्रस्तावलाई केन्द्रीय कार्यकारिणी बैठकबाट पारित गराउँदै आफ्ना माग पूरा गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने तर नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा नजाने निर्णय जसपाले गराउने भएको छ।
‘अहिलेको अवस्थामा कमजोर बहुमतको सरकार भन्दा पनि ‘अर्ली इलेक्शन’ नै निकासको बाटो भएकाले सोही प्रस्ताव केन्द्रीय कार्यकारिणी बैठकमा जानेछ’, जसपाका एक जना केन्द्रीय सदस्यले भने,‘पार्टीको बहुमतले पारित गरेको प्रस्तावमा सबै सहमत हुनेछन्।’
शीर्षस्थ नेताहरूको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पनि कांग्रेस सभापति शेरबहादुर देउवा सरकार नेतृत्व भन्दा पनि चुनावतिर जान चाहेको संकेत आफूले बुझेको बताएका थिए।
‘सरकारलाई समर्थन दिने या विकल्पमा उभिने नभई तटस्थ बसेर हामी चुनावी माहौलतिर मुलुकलाई लैजानेछौं’, ति केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य भन्छन्,‘त्यसअघि ओली सरकारले रेशम चौधरीलगायतका हाम्रा मुद्दालाई सम्बोधन गर्ने विश्वास पनि छ।’
पार्टी विभाजन भएपछि सरकारलाई समर्थन कि विकल्प भन्ने चर्चा सुरु हुनासाथ जसपा अध्यक्ष ठाकुरलगायतसँग प्रधानमन्त्री ओलीले भेट गरेका थिए।
सो क्रममा ओलीले ठाकुरलाई तीनवटा प्रस्ताव गरेका थिए। पहिलो, अहिलेको सरकारलाई समर्थन दिने, दोस्रो सरकार नेतृत्व लिने र तेस्रो कांग्रेस र माओवादीसँग नमिली तटस्थ बस्ने। जसपाले तेस्रो विकल्पलाई चुन्ने उच्च स्रोतले जनाएको छ।
यसैकारण पनि जसपा नेता राजेन्द्र महतोले भनेका छन्,‘अहिले हामी कुनै गठबन्धनतिर ढल्किने या लाग्ने अवस्था छैन। न हामी ओलीतिर छौं, न देउवातिर छौं।’
जसपा नेता लक्ष्मणलाल कर्णले पनि ओलीको विकल्प ओली मात्रै बन्ने भएकाले चुनावतिर जानुपर्ने सांकेतिक तर्क गरेका थिए। अहिले संविधानका धारा ७६ ९२०मा रहेका प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको मत माओवादीले फिर्ता लिनासाथ उक्त सरकार ७६ (३)मा पुग्नेछ।
सोही प्रक्रियागत हिसाबले ७६(५) हुँदै मुलुक चुनावतिर जाने स्पष्ट संकेत देखा परेको छ। ‘मंसिरमा चुनाव गराउनेगरीको राजनीतिक घटनाक्रम हुने देखिन्छ’, उच्च स्रोतले भन्यो।
जसपाले सरकार नेतृत्वको दाबी गरे पनि को प्रधानमन्त्री बन्ने भन्नेमा आन्तरिक विवाद छ भने नेपाली कांग्रेसले आफैं नेतृत्वमा सरकार बनाउने निर्णय गरेका कारण उक्त विकल्पमा पनि समस्या रहेको बताइन्छ।
‘कांग्रेस आफैंले गरेको निर्णयबाट ब्याक हुन सक्तैन, त्यसैले जसपाले साथ दिएको खण्डमा सरकार बन्न सक्छ जसले चुनाव गराउँछ। अन्यथा अरु विकल्पमा हामी जान सक्तैनौं’, कांग्रेसका एक उच्च तहका नेताले भने,‘प्रतिनिधि सभा पुनःस्थापना भएर ओलीको कदम गलत भएको सावित भइसक्यो, कांग्रेसले त चुनाव नै चहान्छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij