२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोभिडको कारण रोजगारी गुमाएका र कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कोरियामा काम गरेर विदामा आएर पनि फर्किएर जान नपाएका नेपालीहरुको अवस्था संसदलाई जानकारी गराउन माग गरेका हुन् ।
‘उद्योग, खुद्रा व्यापार, यातायात र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ– वैदेशिक रोजगारीमा रहेका पनि लाखौंले रोजगारी गुमाएका छन् । उनीहरु नेपाल फर्किएका छन्, फेरि जान पाएका छैनन्’, सांसद थापाले भने, ‘उनीहरुको पुनस्र्थापनाबारे यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’
दक्षिण कोरियाको भाषा तथा सीप उत्तीर्ण गरेका करिब दश हजार पाँच सय र प्रतिबद्ध करिब दुई हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको उनको भनाइ छ। उनीहरुको सरकारले बेवास्ता गरेको सांसद थापाले बताए।
‘फिलिपिन्स, माल्दिभ्स, श्रीलंकाको सरकारले गरेजस्तो पहलकदमी लिएको भए सायद उनीहरुले कोरिया जान पाइसकेका हुन्थे होलान्’, थापाले अगाडि भने, ‘भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका, घरविदामा आएर फर्किेएर जान नपाएका यी कामदारलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताका सम्बन्धमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनको निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij