Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छ : प्रचण्ड

माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छ : प्रचण्ड


  • 1.6K
    Shares

    माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छ : प्रचण्ड
    images

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । 

    आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरू कुनै विकल्प छैन’, उनले भने, ‘तपाईँहरूको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ ।’

    देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताए । यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै उनले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको बताए । 

    अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताए । झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ । म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु।’

    आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको बताए । उनले आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै आफू पूरै जनताको हितमा केन्द्रित भएको बताए । आफूले पहिलो जस्तै छोटो अवधिमा बिताएको दोस्रो कार्यकालमा मुलुकबाट लोडसेडिङको अन्त्य गरेको स्मरण गराउँदै उनले तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर पाएको बताए ।

    अध्यक्ष प्रचण्डले सरकार छाड्ने बेलामा अहिलेको गठबन्धन सरकार जालझेलबाट आएको असंवैधानिक र अप्राकृतिक सरकार भएको स्पष्ट गरेको स्मरण गराउँदै सरकारले अहिले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै गएको बताए । २०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै उनले आजको कार्यक्रमले त्यसमा नयाँ कडी जोडेको र अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने बताए । दुई दिनको बिचमा आफूले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाएको उल्लेख गर्दै उनले देशभर देखिएको ध्रुवीकरणको लहर अर्थपूर्ण रहेको बताए ।

    प्रकाशित मिति :पौष १५ २०८१ सोमवार - १६:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij