२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले रवि लामिछानेको भाइरल फोटो आफूले खिचेको बताएका छन् ।
लामिछानेको अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको फोटो कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ । उक्त फोटो डा. भुसालले दुई दिन अघि नै आफ्नो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए ।
भुसालले भने, ‘यो फोटो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
रविका समर्थकहरुले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् । तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । गृहमन्त्री भइसकेको व्यक्ति अहिले हिरासतमा कस्तो अवस्थामा बसिराख्नु भएको छ त भनेर बुझाउनका लागि त्यो फोटो खिचेको थिएँ । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।
कास्की प्रहरी स्रोतका अनुसार गत शनिबार भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो ।
भुसालले भेट्ने अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । यद्यपि, सीसीटिभी भएको ठाउँसम्म उनले मोबाइल कसरी लान पाए भन्ने चाहिँ प्रहरीले बताउन सकेको छैन ।
कास्की प्रहरीले यस घटनाबारे जानकार रहेको र अनुसन्धान भइरहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij