२०८२ भाद्र ८ गते आइतवार
बच्चालाई जाडो महिनामा देखिने प्रमुख समस्या भनेको श्वासप्रश्वासमा हुने संक्रमण हो। जसमा भाइरल संक्रमण देखिने गर्दछ।
यसमा रूघाखोकी देखिन्छ। जुन राइनो भाइरसले गर्दा हुन्छ। फ्लु पनि कमन छ। त्यसलाई इन्फ्लुएन्जा भाइरसले संक्रमण गर्दछ। पेटमा पनि भाइरल संक्रमण पनि देखिन्छ। जसलाई हामी भाइरल डाइरिया भन्छौं।
बच्चालाई स्वस्थ राख्न भ्याक्सिनको प्रयोग गर्न सकिन्छ। त्यसमा सरकारकै तर्फबाट दिइने भ्याक्सिन त नियमित रूपमा लगाउनै पर्छ। त्यसबाहेक इन्फ्लुएन्जाको भ्याक्सिन वार्षिक रूपमा लगाइयो भने फ्लुको संक्रमणबाट बच्चालाई जोगाउन सकिन्छ।
अर्को जाडोमा हुने रोटा भाइरल डायरिया पनि भइरहन्छ। त्यसको लागि पाउने भ्याक्सिन सरकारी कार्यक्रममै सुरू भइसकेको छ। यस्ता भ्याक्सिनले बच्चालाई जाडोमा हुने समस्याबाट जोगाउन सकिन्छ।
१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।
२. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने।
३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।
४. बासी खानेकुरा नखुवाउने।
५. चिसो चिज सकेसम्म नदिने।
६. उमालेको पानी पिउन दिने।
७. बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।
८. बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने।
९. कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने।
१०. घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
११. जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।
१२. बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
१३. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
कुन उमेर समूहका बच्चाले कति समय सुत्नुपर्छ?
जुनसुकै व्यक्तिलाई पनि पर्याप्त मात्रामा निद्रा चाहिन्छ। त्यसमा पनि बच्चाको हकमा अझै जरूरी छ। बच्चालाई कति समय निद्रा चाहिन्छ भन्ने कुरा उसको उमेरमा भर पर्छ। भर्खर जन्मिएकोदेखि एक वर्षसम्मको बच्चालाई १० देखि १४ घण्टा, एकदेखि दुई वर्षको बच्चालाई ८ देखि १२ घण्टा, २ देखि ६ वर्षको बच्चालाई ८ देखि १० घण्टा, ६ देखि १२ वर्ष सम्मको बच्चालाई ८ घण्टाको निद्रा पर्याप्त हुन्छ।
बच्चालाई कस्तो खाना खुवाउने?
बच्चालाई सन्तुलित भोजन जरूरी पर्छ। प्रोटिन, क्यालोरी, भिटामिन, मिनरलको मात्रा पुर्याउन पर्छ। कार्बोहाइड्रेट भएका खाना समेत खुवाउनु पर्छ। तरकारी, फलफूल, नट्स लगायतका खाना अनि माछा, मासु, अण्डा र दुध खुवाउनु पर्छ। पकाएको खाना खुवाउने भए पनि धेरै तातो खाना खुवाउनु पर्दैन। फलफूललाई कोठाको तापक्रम अनुसार खुवाए हुन्छ।
बच्चा बिरामी हुँदा बार्नै पर्ने खाना भन्ने हुँदैन। चिसो छ भनेर दही, केरा खुवाउनु हुँदैन भन्ने गरिन्छ। तर यसले बच्चालाई फाइदा गर्छ। फ्रिजमा राखिएको छ भने मात्रै चिसो खुवाउन नहुने हो। बच्चा बिरामी भएको बेलामा समेत दही केरा खुवाउन सकिन्छ।
कपडा कति लगाइदिने?
जाडोमा बच्चालाई लेयर अनुसार कपडा लगाइदिनुपर्छ। वयस्कले भन्दा एक लेयर धेरै कपडा लगाइदिँदा बच्चालाई पर्याप्त हुन्छ। पहिलो लेयरमा कटनको भेस्ट अथवा भोटो लगाइदिन सकिन्छ।त्यसपछि ऊलनको कपडा लगाइदिन सकिन्छ। त्योभन्दा बाहिर ज्याकेट प्रयोग गर्न सकिन्छ। ऊलनको कपडा सिधै लगाइदियो भने त्यसले बच्चालाई अप्ठ्यारो पर्न सक्छ। तापक्रम अनुसार कपडा लगाइदिन पर्छ। वयस्कले लगाउने कपडाभन्दा बच्चालाई एक लेयर कपडा धेरै लगाइदिनुपर्छ।
त्यो बाहेक मोजा, पञ्जा, टोपीको प्रयोग गर्न सकिन्छ। जाडो छ भन्दैमा धेरै कपडा लगाइदियो भने बच्चालाई हिँड्न समस्या हुने, गुम्सिने र पसिना आउने लगायतका समस्या हुन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij