२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व त्याग्नुपर्ने माग उठेको छ ।
अधिकांश स्थायी समिति सदस्यहरूले तत्काल नेतृत्व हस्तान्तरण गर्न डेटलाइन (समयसीमा) तोक्नुपर्ने माग राखेका छन् ।
पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई अब संरक्षक भएर बस्नसमेत लिखित प्रस्ताव गरेका छन् ।
उनले लिखित प्रस्तावमा भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’
यतिमात्रै होइन, बैठकमै अधिकांश दोस्रो वरियताका नेताले अध्यक्ष प्रचण्डले नेतृत्व त्याग्न डेटलाइन तोक्न माग गरेका छन् ।
पार्टी निर्माणभन्दा पनि सत्ता लिप्सामा लिप्त भएको भन्दै प्रचण्डको बैठकमै चर्को आलोचना भएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए ।
‘प्रचण्डको नेतृत्वले पार्टीलाई निकास दिन नसक्ने भएकोले तुरुन्तै नेतृत्व त्याग्न आफूहरूले माग राखेका छौँ,’ उनले भने, ‘हाम्रा धेरै साथीहरू उहाँ (प्रचण्ड)को नेतृत्वले निकास दिन नसक्ने, माओवादी केन्द्रको सुदृढीकरणको साटो एमालेलगायतका पश्चगामी पार्टीसँग एकता र सत्ता साझेदारीले हामी पतन उन्मुख भएका छौँ । यसर्थ हामीले पार्टीलाई पुनर्जीवन दिन जरुरी छ । यसका लागि अध्यक्षज्यूबाट सम्भव छैन ।’
हेर्नुहोस् लिखित प्रस्ताव :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij