२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग २०८१ भदौ १६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को बुधबार बसेको भर्चुअल बैठकले महिला लिग भदौमा गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतियोगिताका लागि २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय पनि पारित गरेको छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।
कोशी, कर्णाली र सुदूरपश्चिमले छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा स्थान बनाएका थिए । कूल ४५ खेल हुने पहिलो चरणमा सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।
सुपर लिगमा एक अर्कासँग दुई खेल खेलेपछि चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि क्वालिफायर्स, इलिमिनेटर र फाइनल गरि थप चार खेल हुनेछन् । सुपर लिगका शीर्ष दुई टोलीले क्वालिफायर खेल्ने छन् ।
जसमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छन् । तेस्रो र चौंथो स्थानमा रहने टोली पहिलो इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलमा विजयी हुनेले क्वालिफयारमा पराजित हुने टोलीसँग दोस्रो इलिमिनेटर खेल्नेछ ।
दोस्रो इलिमिनेटरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । एन्फाले प्रतियोगिता गर्ने स्थानको भने तय गरेको छैन ।
‘प्रतियोगिता स्थलका बारेमा हामी दुई तीन दिनमा निर्णय सार्वजनिक गर्नेछौं, ’ एन्फा प्रवक्ता सुरेश शाहले खेलाडी डटकमलाई जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij