२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदैछ ।
आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ ।
महाधिवेशनलाई प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनसम्बन्धी सम्पूर्ण काम पूरा भएको जनाएको छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौं आउनेक्रम जारी छ ।
शीर्ष नेताहरूका साथै प्रतिनिधिहरू १० बजे भृकुटीमण्डपमा भेला भएर महाधिवेशनस्थल पुग्ने कार्यक्रम छ ।
तत्कालीन नेकपा (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ ।
विसं. २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको बताएको छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एकीकृत समाजवादीले जनाएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनेछ ।
यद्यपि कोशी प्रदेशका अध्यक्ष बलदेव चौधरी, मधेश प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका श्रीनाथ खनाल, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर थापाले नेतृत्व चयनका लागि निर्वाचनभन्दा पनि सहमतिका आधारमा तय गर्न तीनै जना अध्यक्षका प्रत्यासीलाई सुभाव दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij