२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पुरानै गठबन्धन बुँताउनसक्ने संकेत देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्तारूढ दलकै नेताले सरकारलाई अप्ठ्यारो पार्ने गरेको गुनासो आफूनिकटका नेताहरूसँग गर्ने गरेका छन् । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबाटै अहिले संसद्मा बजेटमाथि चलिरहेको छलफलमा आलोचना खेपिरहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट त्यति आलोचना नभएको उनको बुझाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै ‘यो बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्रीको पार्टीको ?’ भन्दै आफ्ना सांसदलाई खुलेर विरोध गर्न निर्देशन नै दिए । संसद्मा अर्थमन्त्रीले बजेट पेस गरेपछि एमालेको दुईपटक संसदीय दलको बैठक बस्यो, जसमा एमाले अध्यक्ष ओलीले बजेटको बचाउ गर्न निर्देशन दिनुको साटो आफैंले कडा रूपमा आलोचना गर्दै सांसदहरूलाई समेत विरोधमा उतारे । त्यसपछि एमालेका सांसदहरूले निरन्तर प्रतिपक्षी दलजस्तै आलोचना गरिरहेका छन् ।
‘एमाले र रास्वपाले निरन्तर बजेटको आलोचना गर्दै छन्, सत्तारूढ दलले बजेटको रक्षा गर्नुको साटो आलोचनामा उत्रेको छ, जबकि प्रतिपक्षी दल त्यति कडा छैन, उसको टिप्पणी सकारात्मक नै छ, तर जो सरकारमा छ, आफैं बजेट निर्माण ग¥यो, उही सत्तारूढ दलका नेता नै बजेटप्रति नकारात्मक छन्,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘यस्तै रह्यो भने सोच्न सकिन्छ भन्ने मनसाय प्रधानमन्त्रीज्यूको छ, अरू मुद्दा तथा विषयमा समेत त्यस्तै छ, प्रधानमन्त्रीलाई दबाब दिने, चाहिने नचाहिने कामका लागि बाध्य बनाउने ।’
सहकारी ठगी प्रकरणमा सुरुमा एमालेले कुनै आयोग नै बनाउन नसकिने भन्दै अडान लियो । जबकि, प्रधानमन्त्री प्रचण्ड आयोग बनाएर छानबिन गर्नुपर्ने अवस्थामा थिए । तर, एमालेका नेताहरूले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनै नसक्नेगरी लागेका थिए । तर, जब प्रचण्डले बजेट पेस गर्नुभन्दा अघि कांग्रेससँग लचिलो हुँदै आयोग गठनका लागि सहमत भए ओली उनीबाट रुष्ट बने ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको सम्बन्ध सुमधुर नभएको बताइन्छ । यद्यपि, त्यति तल्लोसम्म बिग्रेको पनि छैन । तर, ओलीले प्रचण्डलाई दबाबमा राखिराख्ने र आफूखुसी निर्णय गराउने कारणले प्रचण्डले अप्ठ्यारो महसुस गरेका छन् । सोही कारण उनीहरूको सहकार्य लामो समय जान नसक्ने देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij