२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सांसद राजेन्द्र केसी र योगेन्द्र मण्डलको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । हिजो ( बुधबार) संसद्को रोस्टमबाटै सांसदद्वय मण्डल र केसीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन् ।
प्रतिपक्षी नेपाली कांग्रेसका सांसद केसी र स्वतन्त्र सांसद मण्डलले बुधबार रोस्टमबाटै स्त्रीद्वेषी अभिव्यक्ति दिएका थिए । श्रेष्ठले प्रश्न गरेकी छन्, ‘सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने ? रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो ‘सभ्य’ सदनको ढोँगलाई निरन्तरता दिने ?
‘हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ, सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ,’ मन्त्री श्रेष्ठले भनेकी छन्, ‘आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनुभएको छ ।’
त्यस्तै अर्का सांसद योगेन्द्र मण्डलले बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रुपमा चित्रण गरेको मन्त्री श्रेष्ठको ठहर छ ।
‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ,’ उनले भनेकी छन् ‘समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो । सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको ।’
केही दिनअघि सत्तारूढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि शिक्षामन्त्री सुमना श्रेष्ठमाथि स्त्रीद्वेषी अभिव्यक्ति दिएका थिए । उनले ओलीको अभिव्यक्तिलाई भने कुनै आपत्ति जनाएकी छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij