२०८२ भाद्र २६ गते बिहिवार
जम्मु–कस्मिरको रियासीमा भक्तजन बोकेको बसमा आइतबार साँझ आतंककारीले आक्रमण गरेका छन्। घटनामा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिइरहेका बेला रियासी जिल्लाको कांडा क्षेत्रमा यो आतंकवादी हमला भएको हो।
रियासी एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका हुन्। जसका कारण चालक घाइते भए र बस खाल्डोमा खस्यो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए। यात्रुहरुको पहिचान हुन सकेको छैन। अधिकांश भक्त उत्तर प्रदेशका छन्। शिव खोडी मन्दिर माता वैष्णोदेवीको आधार शिविर हो। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij