२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो ।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गर्नुभएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । यसअघि प्रतिनिधिसभाका बैठक ११ बजे बोलाइएको थियो ।
कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको जानकारी दिएका छन् ।
बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेस सचेतक सुशीला थिङ, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij