२०८२ कार्तिक २२ गते शनिवार
इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका हुन्।
सदरमुकाम इलाम बजारस्थित सिटी हलमा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए। सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। उनी तेस्रोमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो।
एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो। बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्। सुहाङ पेसाले अधिवक्ता पनि हुन्। बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्।
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ। प्रतिनिधिसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ। लिम्बूले ५ हजार ५० मत ल्याएका छन्।
निर्वाचन आयोगका अनुसार यहाँ खसेको कूल मतको ६८ हजार ४ सय ७२ मत सदर भएको छ। यो अनुसार मिलनले ७.३७ प्रतिशत मात्रै मत पाएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij