Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पूर्वाधार अभावकैबीच सुदूरपश्चिम खेलकुदमा अब्बल

पूर्वाधार अभावकैबीच सुदूरपश्चिम खेलकुदमा अब्बल


  • 2.8K
    Shares

    पूर्वाधार अभावकैबीच सुदूरपश्चिम खेलकुदमा अब्बल

    कञ्चनपुर । बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् । यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन । कतिपय स्थानमा त आधारभूत सुविधा पनि उपलब्ध हुन नसकेको अवस्था छ ।

    यद्यपि खेलकुदमा आवश्यक लगानी र भौतिक पूर्वाधार अभावका बीच पनि यहाँका खेलाडीले आफूहरुलाई राष्ट्रियस्तरमा अब्बल सावित गरिरहेका छन् । उनीहरुले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उँचो बनाएका छन् । पालिका हुँदै जिल्ला र प्रदेशबाट छनोट भएका उनीहरुले १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए । 

    पर्याप्त खेल संचरना र प्रशिक्षक नहुँदा पनि यहाँका खेलाडीहरुको गरेको उच्च प्रर्दशनबाट सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले खुसी व्यक्त गरे । १३औँ राष्ट्रपति रनिङ शिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यसपटक भने राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रहेको भन्दै खेलाडीको प्रशंसा गरे । 

    प्रदेशमा ठूला खेल संचरनाका नाममा कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कर्वडहल, कैलालीको टीकापुरमा स्पोर्टस एकेडेमी र डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कवर्डहल बन्दैछन् । त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकारहरु बताउँछन् । 

    ‘सुदूरपश्चिम खेलकुदको हव भएको कुरा अहिलेको नतिजाबाट पनि प्रष्ट भएको छ,’ सदस्यसचिव सिंहले भने, ‘केही खेलमा प्रशिक्षक उत्पादन र खेलकुदको समग्र विकासमा सरकारले लगानी बढाउने हो भने सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा अझै अब्बल हुनेछ ।’

    उनले महेन्द्रनगर र टीकापुरमा  प्रदेश सरकारको रु १४–१४ करोडको लगानीमा दुई ठूला खेलकुद संरचना बनेपछि खेलकुदको माहोल थप सशक्त हुनेमा विश्वास व्यक्त गरे । ‘एथ्लेटिक्स, कवड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा हाम्रो राम्रो प्रर्दशन रह्यो,’ उनले भने । उनले प्रतियोगिता अघि प्रदेशभरीका सबै खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको बताए । 
    उनका अनुसार सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापक गरी एक सय १५ जना रनिङ शिल्डमा सहभागी भएका थिए । उहाँले लगातार रुपमा भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको र सकारात्मक नतिजा आइरहेको बताए । 

    ‘सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा रङ्गशालासहित खेल संरचना व्यवस्थापन गर्न सके अझ बढी फड्को मार्न सकिन्छ,’ उनले भने, ‘अझै १०–१५ जना प्रदेशका खेल प्रशिक्षक थप आवश्यक छ ।’

    उनले यहाँका पहाडी जिल्लामा खेलकुद समिति नै भाडामा रहेको अवस्थामा प्रशिक्षकलगायत अन्य व्यवस्थापन पनि गर्न राज्यको ध्यान नपुगेको बताए । यति हुँदाहुँदै पनि राम्रो खेलाडी उत्पादन हुनु राम्रो भएको उनको बुझाइ छ । 

    बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमले ल्याएको नतिजाबाट प्रदेश खेलकुदमा अब्बल रहेको प्रष्ट भएको बताए । ‘वीरेन्द्र शिल्डदेखि राष्ट्रपति शिल्ड पुग्दासम्म सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अगाडि देखिएको छ,’ भट्टले भने, ‘खेलाडीहरु सेवा सुविधाको अभाव र भविष्यको सुनिश्चितताको अन्यौलताका बीच उत्कृष्ट प्रर्दशन गरेका छन् । उनीहरुलाई जोगाउनका लागि सरकारको ध्यान दिनुपर्छ ।’

    उनले पनि खेलाडीहरुले एकपछि अर्को प्रतियोगितामा ल्याइरहेको सकारात्मक नतिजा सुरक्षित राख्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ‘सुदूरपश्चिमको खेलकुद जगतका लागि अहिलेको नतिजा ऐतिहासिक हो,’ उनले भने, ‘अझै पनि नयाँ खेलाडीहरुको तन र मन खेलप्रति छ भन्ने पनि यसबाट देखिएको छ ।’

    केही समयअघि बाग्मती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रर्दशन गरेको थियो । सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत र २१ कास्यसहित दोस्रो स्थान ओगटेको थियो । –रासस 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १५:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij