२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो चार वर्ष पुरानो पार्टनर जोडी हेडेनसँग इन्गेजमेन्टको घोषणा गरेका छन्।
उनले क्यानबेरास्थित प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा जोडीलाई आफूले डिजाइन गरेको विशेष औँठीका साथ प्रस्ताव गरे। योसँगै अल्बानिज- पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्।
अल्बानिज आफैँले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा इन्गेजमेन्टको खबर सेयर गरेका छन्। उनले लेखेका छन्, ‘उनले हुन्छ भनिन्।’
यसपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अल्बानिज र जोडीले भनेका छन्, ‘हामी तपाईंलाई यो समाचार सुनाउन पाउँदा खुसी छौँ र हामी हाम्रो बाँकी जीवन सँगै बिताउने निर्णय गरेका छौँ। हामी भाग्यमानी छौँ कि हामीले एकअर्कालाई भेट्यौँ।’
बीबीसीका अनुसार ६० वर्षीय प्रधानमन्त्री अल्बानिजले ४५ वर्षीय जोडी हेडेनलाई पहिलोपटक २०२० मा मेलबर्नमा एक व्यापारिक रात्रिभोजमा भेटेका थिए।
अस्ट्रेलियाली संसद्का आफ्ना सहकर्मीसहित न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चर्चित टीभी शेफ निगेला लसनले दुवै जनालाई बधाई दिएका छन्।
अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले लेखेकी छन्, ‘प्रेम एउटा सुन्दर चिज हो। म तपाईंहरू दुवैप्रति खुसी छु।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij