२०८२ भाद्र २७ गते शुक्रवार
बेलायतका राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन्। बेलायतका राजा चार्ल्स तृतीय बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी सम्हालेका हुन्।
राजा चार्ल्सले आफ्नो उपचार चलिरहेकाले छोरा विलियमलाई थप शाही जिम्मेवारी सुम्पिएका बेलायती सञ्चारमाध्यमले जनाएका छन्।
राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ। उनकी श्रीमती पनि शल्यक्रियापछि आराम गरिरहेकी छन्। यो अवस्थामा राजा चार्ल्सले राजकुमार विलियमलाई शाही जिम्मेवारी दिएका हुन्।
४१ वर्षीय राजकुमार विलियम राजा चार्ल्सका जेठा छोरा हुन्। उनले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए।
राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन्।
उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ। उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन्।
७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर भएको खुलेको छैन। सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएपछि उनले नेतृत्व सम्हालेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij