२०८२ भाद्र २७ गते शुक्रवार
गाजामा युद्धविरामका लागि गरिएको नयाँ प्रस्तावमा हमासले सकारात्मक जवाफ दिएको छ। इजरायल, अमेरिका, कतार र इजिप्टले अघि सारेको सो प्रस्तावका सर्तहरु के के छन्, खुलाइएको छैन।
यसअघि इजरायली बन्दीको सट्टामा प्यालेस्टिनी बन्दी छाड्ने सर्तमा ६ हप्ता लामो युद्धविरामको प्रयास भइरहेको खबर सार्वजनिक भएका थिए।
एक साताअघि हमासलाई सो प्रस्ताव पठाइएको थियो। कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासको जवाफ सकारात्मक भएको बताएका छन्। इजरायल र अमेरिकाले हमासको जवाफको अध्ययन भइरहेको बताएका छन्।
बुधबार यसबारे इजरायलसँग छलफल गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जानकारी दिएका छन्। उनी सो क्षेत्रको भ्रमणमा छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले भने युद्धविरामका लागि इजरायल तत्काल तयार नहुने संकेत गरेका छन्।
नोभेम्बरमा एक साता लामो युद्धविराम भएको थियो। जसमा हमासले २४० प्यालेस्टिनीको सट्टामा १०५ इजरायली र विदेशी बन्धक छाडेको थियो।
अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरी करिब १२ सय इजरायलीको ज्यान लिएपछि युद्ध सुरु भएको थियो। त्यसयता गाजामा इजरायलले आक्रमण गरी २७ हजार ५ सयभन्दा बढीको हत्या गरिसकेको छ। एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij