काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ ।
यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ ।
यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ । यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ । प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख पाउनेछन् ।