२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।
तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ । भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानीसमेत गरिने जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह असन्तुष्ट बनेको छ ।
सर्वोच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ ।
बुधबार केन्द्रीय समिति सदस्यहरुबीच छलफल गरेको माधव पक्षले बिहीबार स्थायी समिति सदस्यहरुबीच छलफल गरेको छ ।
‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी अलगअलग हुने सर्वोच्चको फैसला तितो भएपनि त्यो स्थितिमा नेकपा एमालेलाई एकतावद्ध गरेर विधि, प्रणाली र पद्दतिबाट कसरी अघि बढ्ने, हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यस सम्बन्धमा के गर्ने भन्नेमा छलफल गर्न यथासिघ्र बैठक बोलाउनुपर्ने, छलफल होला भन्ने अपेक्षा गरेका थियौँ ।'
'त्यो नभएपछि यति ठुलो नेकपा त हामीले गुमायौ, फेरि एमालेको शक्ति पनि गुमाउनुपर्ने त होइन भन्नेमा हामीलाई चिन्ता लागेको छ’, स्थायी समिति सदस्य भिम रावलले बिहीबारको छलफल पछि भने,‘सर्वोच्चको फैसलासँग अमिल्दा र कतिपय स्थानमा गुण्डागर्दी समेत बढेका छन् त्यस्ता गतिविधि बन्द हुनुपर्छ ।’
नयाँ परिस्थितिमा नयाँ सरकार गठनको चर्चा समेत भइरहेका बेला पार्टीमा छलफल गर्दै नेकपा एमालेलाई एकतावद्ध भएर अघि बढाउन पार्टी कमिटिको बैठक जरुरी भएको नेता रावलले बताए । उनले नेकपा एमाले पुन विभाजन हुने कुराको कल्पना समेत गर्न नसकिने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij