Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

'इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी छ'

'इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी छ'


  • 3.2K
    Shares

    'इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी  छ'
    images

    दोहा । इजरायली बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको कतारका प्रधानमन्त्रीले आइतबार बताएका छन् । 

    कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले दोहा फोरममा भने, “कतार राज्यको रूपमा हाम्रा साझेदारहरूसँग हाम्रो प्रयास जारी छ । हामी हार मान्दैनौं ।” उनले प्रसङ्गलाई थप्दै भने,'बमबारीको निरन्तरताले हाम्रो वार्ता प्रयासमा जटिलता भने ल्याएको छ ।'

    गत अक्टोबर ७ मा भएको आक्रमणमा हमासले एक हजार २०० व्यक्तिको हत्या गर्नुका साथै २४० जनालाई बन्धक बनाएपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको इजरायली तथ्याङ्कले जनाएको छ । इजरायली आक्रमणका कारण गाजामा कम्तीमा १७ हजार ७०० व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कतार वार्तामा एक प्रमुख मध्यस्थकर्ता हो । कतारको निरन्तरको वार्ता र शान्तिको प्रयासको परिणामस्वरूप सात दिनको युद्धविराम भएको थियो । उक्त अवधिमा धेरै इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदी र मानवीय सहायताको आदान–प्रदान भएको छ । 

    कतारका प्रधानमन्त्रीले भने, “हामी प्रयास जारी राख्नेछौं, हामी बन्धकहरूलाई रिहा गर्न र युद्ध रोक्न पनि प्रतिबद्ध छौं ।” उनले थप भने, “हामीले दुवै पक्षबाट समान इच्छा प्रकट भएको देख्दैनौं ।”

    यसअघि दोहा फोरमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल–हमास द्वन्द्वको समाधानलाई कमजोर पार्ने भू–रणनीतिक विभाजनका कारण सुरक्षा परिषद् पङ्गु भएको बताएका थिए । 

    गाजायुद्ध विरामको आह्वान गर्ने प्रस्तावलाई अमेरिकी भिटोले रोकेको दुई दिनपछि उनले युद्धमा ढिलाइ हुँदा उक्त निकायको ‘अधिकार र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पारिएको’ बताए । 

    उनले भने, “मानवीय युद्धविरामको घोषणाका लागि मैले आफ्नो अपिल दोहोर्याएको छु । दुःखको कुरा, सुरक्षा परिषद्ले त्यसो गर्न सकेन । म प्रतिवद्धता व्यक्त गर्न सक्छु हार मान्दिनँ ।” गुटेर्रेसले गाजामा दुई महिना लामो संघर्षपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका थिए । 

    उनले संयुक्त राष्ट्रसङ्घको बडापत्रको विरलै प्रयोग हुने धारा ९९ लाई प्रयोग गर्दै राष्ट्रसङ्को महासचिवको हैसियतमा ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न खतरा हुन सक्ने कुनै पनि विषय’ प्रति सुरक्षा परिषद्को ध्यानाकर्षण गराएका छन् । 

    दशकौंदेखि संयुक्त राष्ट्रसङ्घका प्रमुखले यो धारालाई विरलै प्रयोग गरेका थिए । गुटेर्रेसले दोहा फोरममा भने, “हामी मानवीय प्रणाली ध्वस्त हुने गम्भीर जोखिमको सामना गरिरहेका छौं ।”

    “स्थिति तीव्र गतिमा विपत्तिमा परिणत भइरहेको छ र यसले समग्र प्यालेस्टिनी र यस क्षेत्रको शान्ति र सुरक्षामा सम्भावित अपरिवर्तनीय प्रभाव पार्नेछ ।”- (रासस/एएफपी)

    प्रकाशित मिति :मंसिर २४ २०८० आइतवार - १६:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij