२०८२ भाद्र १८ गते बुधवार
बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका–५ को रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा परेको छ । लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिए पनि पूर्वाधार निर्माण तथा अन्य क्रियाकलापले प्राथमिकता नपाएका हुन् ।
देवघाटधामका सञ्चालक ज्ञानानन्द सरस्वतीले लामो समयसम्म रामकोटको संरक्षण गरेका थिए । उनी देवघाट झरेपछि स्थानीय तह, प्रदेश र सङ्घीय क्षेत्रको बजेट तथा कार्यक्रम नपरेको हो । ज्ञानानन्द सरस्वतीका गुरु परमानन्दसमेत यही जन्मेका थिए । बिहुँमा रहेको रामकोट र त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो मन्दिर भएको दाबी गरिएको छ । प्रवद्र्धनात्मक कार्यक्रम भने हुन सकेको छैन । “चालू वर्ष वडाको बजेटबाट सत्तल निर्माण र परमानन्द गुरुको शालिक राख्ने कार्यक्रम बनाएका छौँ”, वडाध्यक्ष शिवप्रसाद कँडेलले भन्नुभयोे, “पालिकाबाट पनि बजेट पारेर पर्यटन प्रवद्र्धनका कार्यक्रम राख्ने भने पनि बजेट परेको छैन ।” शिवरात्रि मेलामा यहाँ सयौँ भक्तजन पुग्छन् ।
अग्लो स्थानमा भएकाले धेरै हिमाल र स्थान देख्न सकिन्छ । यहाँ पाँच हजार ५५५ केजीको शिवलिङ्गसमेत स्थापित छ । सयौँ रोपनी जमीनको क्षेत्रमा रहेको यो मन्दिरसँगै जङ्गल र जङ्गली जनावर संरक्षित छन् । यहाँ चितुवा, मृगलगायतका जनावर र कालिज पक्षी पनि पाइने स्थानीय भीष्म कँडेलले बताउनुभयो । अहिले उक्त मन्दिर र आश्रम रहेको स्थानमा वस्ती पातलो भएकाले चोरी शिकारी बढेकाले संरक्षणका कार्यक्रम आवश्यक भएको उहाँको भनाइ छ ।
वडा तहको बजेटले सयौँ रोपनी जमीनलाई घेराबार लगाउन नसकिने भएकाले गाउँपालिका र प्रदेश सरकारसम्म माग गर्नुपर्ने उहाँले बताउनुभयो । “कार्ययोजना बनाएर प्रदेश तहमा माग गर्नैपर्ने भएको छ”, कँडेलले भन्नुभयोे, “धार्मिक आस्था र प्राकृतिक सौन्दर्य लोप भयो भने अर्बौंको सम्पत्ति नष्ट हुनेछ ।” यहाँ बसेका साधुसन्तले हातमै आहारा राखेर कालिज, परेवा र अन्य चराचुरुङ्गीलाई दिने गरेको जानकार बताउँछन् । सयौँ चरा मानिस झँै आएर आश्रममै बस्ने गरेकाले त्यही दृश्य हेर्न पनि धेरै मानिस पुग्ने गरेका छन् ।
गाउँपालिका अध्यक्ष अमर थापाले पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । “प्रदेश तहबाट सहयोगको अपेक्षा गरिएकाले पालिकाको लगानी भएको छैन”, थापाले भन्नुभयोे, “स्तरीय सडक बनाउने काममा काम थाल्छौँ । अहिले यहाँ पुग्ने कच्ची सडक छ । बेलाबेला भत्कने भएकाले चाहेर पनि सबै सवारीसाधन पुग्न सक्दैनन् ।”
नेपाल पर्यटन बोर्डको समेत लगानी ल्याउनका लागि प्रस्ताव पठाएकामा सुनुवाइ नभएको थापाले बताउनुभयो । रामकोट नजिकै शिवधुरी घरवास(होमस्टे) पनि सञ्चालनमा छ । होमस्टेमा बस्ने गरी पर्यटक भित्र्याउने योजना सार्वजनिक गर्न स्थानीयवासीले पालिकामा आग्रह गरिरहेका छन् । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij