२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए ।
कालिमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’
तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।
कालिमाटीकै तरकारी व्यवसायी सामर्थ्य ढुंगानाले भने करिब ५ हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गरे । ‘किलोमा ४ रुपैयाँ पनि गोलभेंडा नबिकेपछि नष्ट गरिएको हो, पहिले चितवनमा भयो अहिले काठमाडौंमा,’ उनले भने, ‘नेपालमा फलेको गोलभेंडा बिक्री गर्नै सकिएन ।’
कालिमाटी बजार बिकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij